रौतहटको गुजरा नगरपालिका–३ स्थित धन्सार पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा बिहान पेट्रोल बोकेको ट्यांकर पल्टिएर आगो लाग्दा ट्यांकर पूर्णरूपमा जलेर नष्ट भएको छ। हिरणलाई बचाउने क्रममा ट्यांकर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
हिरण बचाउने प्रयासमा ट्यांकर अनियन्त्रित
घटना बिहान करिब ५:३० बजेको हो। मधेश प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकर बाराको अमलेखगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको थियो। सोही क्रममा राजमार्ग पार गर्दै गरेको हिरणलाई जोगाउने प्रयास गर्दा ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टियो र केहीबेरमै आगो सल्कियो।
सडकमा अचानक हिरण आएपछि चालकले नियन्त्रण गुमाएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ। आगलागीपछि आसपासमा त्रास फैलिएको थियो।
एक घण्टा यातायात ठप्प, आगो नियन्त्रणमा
आगलागीका कारण पूर्व–पश्चिम राजमार्गमा करिब एक घण्टा सवारी आवागमन ठप्प भएको थियो। चन्द्रनिगाहापुर क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला ट्रायफिक प्रहरी कार्यालय र निजगढ नगरपालिकाको दमकलको संयुक्त टोलीले बिहान ६:५० बजेतिर आगो नियन्त्रणमा लिएको थियो। आगो निभेपछि राजमार्गको यातायात पुनः सुचारु गरिएको छ।
ट्यांकर पूर्णरूपमा जलेर नष्ट भए पनि घटनामा कोही घाइते वा मृत्यु भएको छैन। प्रहरीले ट्यांकरका चालक बाराको सिमरा उप-महानगरपालिका–११ का २५ वर्षीय समीर गुरुङलाई नियन्त्रणमा लिएको छ। उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ।
