प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा दुई देशसँग जोडिएका छ परियोजना शिलान्यास, उद्घाटन तथा हस्तान्तरण गरिएको छ । समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी कार्यक्रम गरिएका हुन् । जसमध्ये तीन परियोजनाको शिलान्यास, दुई परियोजनाको उद्घाटन र एक परियोजना हस्तान्तरण भएको छ ।
दुई प्रधानमन्त्रीले संखुवासभामा निर्माण हुने ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् । चिचिला गाउँपालिका र खाँदबारी नगरपालिका क्षेत्रमा पर्ने यो आयोजनामा नेपाल र भारत दुवैको लगानी रहनेछ । अनुमानित ९२ अर्ब ६७ करोड रुपैयाँ लागतको यो परियोजना निर्माणका लागि लगानी बोर्ड र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच १८ जेठ २०८० मा परियोजना विकास सम्झौता भएको थियो ।
सोही अवसरमा बनवासा सुक्खा बन्दरगाहको शिलान्यास गरिएको छ भने सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा बन्ने टर्मिनलको पनि शिलान्यास भएको छ । यसैगरी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दुई प्रधानमन्त्रीले हस्तान्तरण गरेका छन् भने धार्चुला–दार्चुला पक्की पुलको उद्घाटन पनि सोही क्रममा भएको छ ।
जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु
रामायण सर्किट परियोजना अन्तर्गत भारतको अयोध्या र नेपालको जनकपुरलाई जोड्ने सरयु–कमला एक्स्प्रेस रेल सेवाको पनि उद्घाटन गरियो । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेललाई बिदाइ गरेका थिए ।
यससँगै दुई देशका महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहर प्रत्यक्ष रेल सम्पर्कमा आएका छन् । जनकपुरधाम र अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेलवे विभागले यसअघि नै स्वीकृति दिइसकेको थियो । करिब ६ सय ४ किलोमिटर लामो यो सिधा सेवाले धार्मिक पर्यटन र सीमापार आवागमन अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ ।
रेलवे बोर्डको तालिका अनुसार यो रेल हरेक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुट्ने र आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ । यस्तै सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट रेल नं. १५५९६ छुटेर जनकपुरधामतर्फ आउनेछ । सातामा एक पटक दुवैतर्फ चल्ने यो रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनमा रोकिनेछ ।







