राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डलले ११ दिने चीन भ्रमण सकेर स्वदेश फर्किएको छ। भ्रमणका क्रममा चिनियाँ पक्षले नेपालबाट उच्चस्तरीय भ्रमण यथाशीघ्र हुनुपर्ने चाहना देखाएको टोलीका एक सदस्यले जानकारी दिए।
ती सदस्यका अनुसार उच्चस्तरीय भ्रमणको विषयमा सरकारी तहबाट केही अनौपचारिक कुरा भए पनि औपचारिक छलफल भने अघि बढेको छैन। चिनियाँ पक्षको अपेक्षा हेर्दा नेपालबाट उच्चस्तरीय भ्रमण चाँडै भएको हेर्न चाहेको देखिन्छ। सीपीसीले रास्वपाका सभापति तथा सरकार दुवैको उच्चस्तरीय भ्रमण हुनुपर्ने चाहना राखेको उनको भनाइ छ। दुई देश र दुई पार्टीबीच भेटघाट बाक्लो हुनुपर्ने, नजिकको छिमेकी भएकाले संवादमा कुनै खाली ठाउँ नरहनुपर्ने र यसले दुई देशको हित तथा नागरिक तहमा समेत लाभ पुर्याउने चिनियाँ नेताहरूको बुझाइ रहेको उनले सुनाए।
पोलिटब्युरो सदस्यसँग भेट
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य ली शुलेईसँग भेटवार्ता गरेको छ। पार्टीका शीर्ष ७–८ नेतामध्ये एक रहेका उनीसँग पार्टी केन्द्रीय कार्यालयमा छलफल भएको थियो। यसैगरी पार्टीका एक प्रदेश प्रमुखसँग पनि छलफल भएको र अन्य तहका नेताहरूसँग भेटघाट भएको टोलीले जनाएको छ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागको छुट्टै कार्यालय रहेको र २१ ब्युरोमध्ये ब्युरो वानका प्रमुखसँग औपचारिक भेट भएको पनि ती सदस्यले बताए। उक्त भेटपछि सोही नेतासँगै दिउँसोको खाना खाइएको थियो।
उद्योग र पुनर्निर्माणको अवलोकन
भ्रमणका क्रममा टोलीले उद्योगी–व्यवसायीसँग भेटघाट गर्नुका साथै केही उद्योगको अवलोकन गरेको छ। गाडी उत्पादन गर्ने कम्पनीको उत्पादन युनिट, होङ्सी सिमेन्ट (होङ्सी ग्रुप) तथा बाँसबाट धागो बनाई कपडा उत्पादन गर्ने कम्पनीको अवलोकन गरिएको थियो।
सिचुआनमा विपद्पछिको पुनर्निर्माण कसरी गरिएको छ र विपद् आउनुअघि नै कस्ता सावधानी अपनाइन्छ भन्ने विषयमा पनि टोलीले अध्ययन गरेको छ। समग्रमा भ्रमण फलदायी रहेको ती सदस्यको भनाइ छ।
'नयाँ सोच भएको परिपक्व पार्टी'
रास्वपाप्रति सीपीसीको बुझाइबारे सोधिएको प्रश्नमा ती सदस्यले चिनियाँ नेताहरूले रास्वपालाई नयाँ सोचसहित आएको नयाँ पार्टीका रूपमा लिएको बताए। निर्वाचनमा दुईतिहाइको नजिक सिट जितेर सरकार बनाएको दल कस्तो हुन्छ भन्ने जिज्ञासा उनीहरूमा रहेको र छलफलपछि रास्वपालाई परिपक्व तथा प्रोफेसनल पार्टी भनी व्याख्या गरेको उनले सुनाए। १०५ वर्षको इतिहास बोकेको सीपीसीका नेताहरूले चार वर्षअघि मात्र स्थापना भएको रास्वपाका नेताहरूसँगको भेटबाट खुसी व्यक्त गरेको र डाक्टर, इन्जिनियरलगायत पेसागत क्षमता भएका व्यक्तिहरू मिलेर बनेको पार्टी भएको टिप्पणी गरेको पनि उनले जानकारी दिए।
वर्तमान सरकारप्रति चिनियाँ पक्ष सशङ्कित रहेको भन्ने टिप्पणीबारे सोधिएको प्रश्नमा भने उनले त्यस्तो बुझाइ नपाइएको प्रतिक्रिया दिए। यसअघि त्यस्तो देखिनुमा भेटघाट र संवादको अभाव पनि कारण हुनसक्ने उनको भनाइ छ। नगरपालिकादेखि सङ्घीय कमिटीसम्मका सीपीसी नेताहरूले राम्रो प्रतिक्रिया दिएको र अधिकांश भेटघाट पार्टीकै कार्यालयमा भएको उनले बताए।
अनुशासन र निर्णय प्रक्रियाको सिकाइ
भ्रमणबाट सीपीसीको पार्टी सञ्चालनबारे पनि धेरै सिक्ने अवसर मिलेको ती सदस्यले बताए। सीपीसी अनुशासनमा बाँधिएको पार्टी रहेको र त्यसबाट धेरै कुरा सिक्न सकिने उनको भनाइ छ। पार्टीको चेन अफ कमान्ड र निर्णय प्रक्रियाबारेको बुझाइ नयाँ मात्र नभई पुराना पार्टीका लागि पनि महत्त्वपूर्ण हुने उनले उल्लेख गरे। पार्टीका निर्णय जनमुखी र राष्ट्रकेन्द्रित हुनुपर्ने तथा त्यसका लागि पार्टी बलियो बनेर अघि बढ्नुपर्ने धारणा चिनियाँ पक्षको रहेको पनि उनले बताए।
यसैबीच चीन भ्रमणका क्रममा केही रास्वपा नेताको अभिव्यक्ति विवादित बनेको विषयमा सोधिएको प्रश्नमा ती सदस्यले साथीहरूबीच हुने अनौपचारिक छलफल त्रुटिवश सामाजिक सञ्जालमा पुगेको बताए। यस्ता विषयमा पार्टीले सबै सदस्य बसेर छलफल नगर्ने उनको भनाइ छ। सम्बन्धित नेताहरूलाई यस्तो कुरा गर्न र बाहिर ल्याउन नहुने भनी मौखिक रूपमा सचेत गराइएको र उनीहरू आफैँ पनि सचेत भएको उनले जानकारी दिए।







