मुख्य सामग्रीमा जानुहोस्

इनम सापकोटाको उजुरी : जबर्जस्ती बयान गराइएको र परिवारलाई ज्यानको धम्की दिइएको दाबी

अनधिकृत कारोबार र फिक्सरको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाले जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी दिएका छन्। निवेदनमा उनले विशिष्ट व्यक्तिहरूविरुद्ध प्रमाण र बयान दिन दबाब दिइएको तथा नमाने परिवारलाई…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
इनम सापकोटाको उजुरी : जबर्जस्ती बयान गराइएको र परिवारलाई ज्यानको धम्की दिइएको दाबी
Online Khabar

अनधिकृत कारोबार तथा हाइप्रोफाइल व्यक्तिहरूसँग मिलेर फिक्सरको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाले आफ्नो जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। शुक्रबार आयोगमा दर्ता भएको उक्त निवेदनमा उनले आफूविरुद्ध हालसम्म लाग्दै आएका आरोप खण्डन गर्दै सुरक्षाकर्मीले ज्यादती र जबर्जस्ती गरेको उल्लेख गरेका छन्।

निवेदन उनकी श्रीमती कविता पाण्डेमार्फत पेस भएको हो। आयोगका एक सदस्यका अनुसार पाण्डेले आयोग अध्यक्ष तपबहादुर मगरसमक्ष रुँदै सापकोटाको जीवन रक्षाको आग्रह गरेकी छन् र घटनाक्रमको विवरण पनि सुनाएकी छन्। हिरासतमा रहेका सापकोटाको अवस्था बुझ्न आयोगको टोली सोमबार प्रहरी परिसर काठमाडौं जाने भएको छ।

विशिष्ट व्यक्तिविरुद्ध बयान दिन दबाब

उजुरीमा सापकोटाले आफूमाथि भएका सम्पूर्ण काम सुरक्षाकर्मीको जबर्जस्तीमा गराइएको दाबी गरेका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, उनका भाइ–छोरा, कांग्रेस सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर र सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशविरुद्ध प्रमाण तथा बयान दिन आफूलाई लगाइएको उनको भनाइ छ। तीमध्ये केहीलाई आफूले नचिनेको पनि उनले बताएका छन्।

बयान दिन अस्वीकार गरे झुट्ठा मुद्दा लगाउने र आफू मात्र नभई परिवारसमेतलाई नराम्रो पार्ने धम्की आफूलाई दिइएको सापकोटाको उजुरीमा उल्लेख छ।

निवेदनमा उनले आफूमाथि मानसिक यातना दिइएको जनाएका छन्। फकाउने र तर्साउने क्रममा एकातिरको आँखाको पट्टी माथि सारेर सबैले सुन्ने गरी ठूलो स्वरमा लेखिएका कुरा पढ्न लगाइएको, ती कुरामा सही गर्न इन्कार गरेपछि आँखामा पट्टी र त्यसमाथि चस्मा लगाई गाडीमा हालेर साँझ जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएको उनले उल्लेख गरेका छन्।

प्रहरीले पढ्न लगाएका कुरा रेकर्ड गरी काँटछाँट गरेर अडियो बाहिर ल्याएको र सोही अडियोका आधारमा बयान दिन दबाब दिइरहेको सापकोटाले जानकारी पाएको बताएका छन्। एआईबाट निर्मित अडियो तथा कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत हुन थालेको र आफ्नो मोबाइल दुई दिनसम्म अनधिकृत व्यक्तिलाई दिई हुँदै नभएका प्रमाण सिर्जना गरिएको उनको आशंका छ। यसबाहेक आरोप प्रमाणित नहुँदै देशकै सबैभन्दा ठूलो बिचौलिया र फिक्सरजस्ता उपमा दिई आफूलाई बदनाम गरिएको भन्दै उनले संविधानको धारा २० र धारा २८ विपरीत मौलिक हकमाथि आघात पुगेको दाबी गरेका छन्।

घर खानतलासी र झुट्ठा मुद्दाको आरोप

उजुरीअनुसार १६ गते बिहान हथकडी लगाई पानीपोखरी हाइट्स होम्स अपार्टमेन्टमा लगिएको र खानतलासीमा खासै केही नभेटिएपछि सुटकेसको साइड ब्यागबाट निकालिएको विदेशी मुद्रासमेत घरमा फेला परेको भनी मुचुल्का बनाइएको थियो। श्रीमतीको दस्तखत पहिले नै खाली पेजमा गराइएको पनि उनले उल्लेख गरेका छन्। विमानस्थलको सडकमा अभद्र व्यवहार गरेको भनी गलत म्याद थप गरिएको र कानुन व्यवसायीले राष्ट्र बैंकको परिपत्रअनुसार डलर राख्न पाइने व्यवस्था देखाएपछि सम्पत्ति शुद्धीकरण मुद्दा थपेर झुट्ठा मुद्दा सिर्जना गरिएको उनको दाबी छ। अनुसन्धानमा रहेका व्यक्तिले झुटा विवरण बाहिर ल्याएको भन्दै उनले उनीहरूमाथि पनि कानुनबमोजिम कारबाहीको माग गरेका छन्।

पक्राउको शृंखला

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत ११ असोजमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई उनकै घरबाट पक्राउ गरेको थियो। व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाललगायतलाई छुटाउन अदालतमा चलखेल गरेको सूचनापछि प्रधानमन्त्री बालेन शाहको निर्देशनमा उनी मध्यराति पक्राउ परेका थिए। राति २ बजे पक्राउ गरी १२ घण्टासम्म प्रहरी नियन्त्रणमा राखेर केरकार गरिएको र दिउँसो २ बजे छाडिएको थियो।

त्यसक्रममा जबरासम्म सापकोटाको सम्पर्क रहेको प्रहरीले पत्ता लगाएपछि उनलाई १४ असोजमा नयाँदिल्ली जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो। सापकोटा पक्राउ परेपछि धेरै हाइप्रोफाइल व्यक्तिसँगको कनेक्सन देखिएको प्रहरीको दाबी छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी नरहरि रेग्मीको नेतृत्वमा छुट्टै समिति बनाएर अनुसन्धान गरिएको छ। सोही क्रममा कांग्रेस नेता उमेश श्रेष्ठका भाई महेश श्रेष्ठ र लगानी बोर्डका पूर्व सिइओ सुशील भट्ट पक्राउ परेका छन् भने सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई जागिरबाटै बर्खास्त गरिएको छ।