मुख्य सामग्रीमा जानुहोस्

बाजुराको दाउणामा ट्याक्टर सडकबाट तल खस्दा दुईको मृत्यु, पाँच घाइते

बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा चालकसहित पाँच जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
बाजुराको दाउणामा ट्याक्टर सडकबाट तल खस्दा दुईको मृत्यु, पाँच घाइते
Online Khabar

बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर साँझ साढे ६ बजे दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडा निवासी ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको छ ।

घाइते हुनेहरूमा अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ट्याक्टर चालक नवीन बोहरा, जगन्नाथ गाउँपालिका–३ की ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगीता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका छन् ।

घाइतेमध्ये संगीता शाही र रामशरा देवी सिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालक बोहरासहित अन्य दुई घाइतेको अवस्था भने मध्यम रहेको बताइएको छ ।

घटनाको खबर पाएपछि प्रहरी चौकी जुड्डी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । उक्त टोली राति ९ बजे दुर्घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।