भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको भवनमा सात महिनादेखि अस्थायी बसोबास गर्दै आएका सुकुमवासीलाई ठाउँ खाली गर्न भक्तपुर प्रशासनले सूचना टाँसेपछि उनीहरू भयभित बनेका छन् । शुक्रबार दिउँसो २ बजेसम्मको समय दिइएको सो सूचनाकै आधारमा बिहीबार सुरक्षाकर्मीले माइकिङ गरेर हट्न निर्देशन दिएका थिए ।
गत वैशाखमा नदी किनारका बस्तीबाट विस्थापित भएकाहरूलाई उपत्यकाका तीन स्थानमा राखिएको छ । तीमध्ये काठमाडौंको नागार्जुन, भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र र खरिपाटीमा रहेको विद्युत प्राधिकरणको भवन पर्छन् । थापाथली, गैरीगाउँ, मनोहरालगायत क्षेत्रबाट हटाइएका सुकुमवासी यी ठाउँमा बस्दै आएका छन् ।
हट्ने निर्देशनको विरोधमा बोडेका सुकुमवासीले बिहीबार रित्ता थाल ठटाएर प्रदर्शन गरेका छन् ।
प्रशासनको दाबी
प्रशासनका अनुसार बोडेमा १९ परिवारका ५९ जना रहेका छन् । तीमध्ये ७ परिवार भूमिहीन नरहेको र बाँकी १२ परिवारलाई सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने निस्सा समेत प्राप्त भएको दाबी प्रशासनले गरेको छ । भूमि समस्या समाधान समितिले फेला पारेको अभिलेखकै आधारमा ठाउँ खाली गर्न सूचना निकालिएको अधिकारीहरूको भनाइ छ ।
सुकुमवासीको माग के छ
जग्गाको अभिलेखमा नाम देखिएकै भरमा कसैलाई भूमिहीन तथा सुकुमवासी नठहराउने निर्णय पुनरावलोकन गर्नुपर्ने उनीहरूको माग छ । वास्तविक जग्गा, आवासीय तथा आर्थिक अवस्थाबारे पीडित परिवारसँग प्रत्यक्ष संवाद र निष्पक्ष स्थलगत छानबिन हुनुपर्ने उनीहरू बताउँछन् ।
बोडेको होल्डिङ सेन्टरमा बस्दै आएका झवरलाल उराउले भने सरकारले जग्गा रहेको भन्दै सूचना निकाले पनि आफैं त्यो ठाउँमा पुग्दा नाममा जग्गा भेटिएको छैन । संविधानले प्रत्याभूत गरेका अधिकारबारे सरकारले सोच्नुपर्ने र अन्यथा आफूहरू फेरि थापाथली फर्किएर बस्न बाध्य हुने उनको भनाइ छ । सात महिनाको अवधिमा समस्या समाधान गर्नुको सट्टा सरकारी पक्षले तर्साउने काम मात्र गरेको उनले आरोप लगाए ।
आफू महानगरको बासिन्दा र काठमाडौं–१ को मतदाता भएको बताउँदै उराउले जुन पालिकामा बस्दै आएको हो, त्यहीँ बस्न पाउनुपर्ने बताए ।
अन्य सेल्टरमा पनि चिन्ता
बोडेमा हट्न निर्देशन आएपछि अन्य स्थानमा बस्दै आएकाहरू पनि त्रसित बनेका छन् । तीनै स्थानका ११ जनाले संयुक्त विज्ञप्ति निकालेर हटाइएको स्थानको जिल्ला प्रशासन, सम्बन्धित सरकारी निकाय र पीडित प्रतिनिधिबीच संवाद गरी समयसीमासहितको कार्ययोजना बनाउन सरकारसँग माग गरेका छन् ।
खरिपाटीमा विद्युत प्राधिकरणको भवनमा बस्दै आएका ७० वर्षीय पवन गुरुङले बस्ने ठाउँ निश्चित नहुँदै यहाँ पनि खाली गर्न भनिएपछि के गर्ने र कहाँ जाने भन्ने चिन्ता रहेको बताए । खरिपाटीमा ३७ परिवारको बसोबास छ । गुरुङ आफैं कीर्तिपुरको अस्थायी सेल्टरमा बाढी पसेपछि यहाँ सरेका थिए ।
भूमि व्यवस्था मन्त्रालय र अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिबीच छलफलको तयारी भइरहेका बेला सरकारले हट्न सूचना निकालेको गुरुङले बताए । समितिको उक्साहटमा सुकुमवासी हटाउनुपरेको उनको बुझाइ छ ।
अतिक्रमित बस्ती हटाउन समितिले सरकारलाई सुझाव दिएकै आधारमा केन्द्रीय सरकारको सक्रियतामा बस्ती खाली गरिएको थियो । बस्तीबाट हटाइएकाको लगत संकलन गरेर १५ दिनभित्र व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धता थियो, तर सात महिना बित्दा पनि स्थायी आवासको व्यवस्था भएको छैन ।
सरकारको निर्देशन नमान्ने अडान सुकुमवासीले लिएका छन् । तोकिएको समयभित्र आफूहरू नहट्ने र जबरजस्ती हटाउन खोजे प्रतिवाद गर्ने उराउले बताए ।







