मुख्य सामग्रीमा जानुहोस्

बाढीले जोगाउन रोपिएको वन अहिले कुमरोजको आर्थिक आधार बन्दै

पूर्वी चितवनको कुमरोज बस्ती एक समय बाढीले उठिबास बनाउने अवस्थामा थियो । बस्ती जोगाउन रोपिएका बिरुवाले आज घना वनको रूप लिँदा स्थानीयले सफारी, पर्यटन र सामुदायिक सहयोगबाट आम्दानी गरिरहेका छन् ।

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
बाढीले जोगाउन रोपिएको वन अहिले कुमरोजको आर्थिक आधार बन्दै
Online Khabar

पूर्वी चितवनको कुमरोज बस्ती एक समय राप्ती नदीको बाढीले जोखिममा पारेको थियो । २०४१ असोज ६ गते आएको भीषण बाढीले बस्ती नै असुरक्षित बनाएपछि बर्सेनि दोहोरिने बाढीले स्थानीयवासीको बसाइ र जीविकोपार्जनमा गहिरो असर पुर्‍याइरह्यो । २०५० सालतिर त्यो त्रास यति बढ्यो कि थातथलो नै छाड्ने अवस्था आयो ।

त्यही समस्याबाट निस्कने बाटो खोज्दै सुरु गरिएको वृक्षरोपणले आज कुमरोजको पहिचानै फेरिदिएको छ । खैरहनी नगरपालिका–१२ र १३ मा फैलिएको कुमरोज मध्यवर्ती सामुदायिक वन अहिले झन्डै एक हजार हेक्टरमा विस्तारित छ र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । बाघ, गैँडा र हात्तीजस्ता वन्यजन्तुको बासस्थान रहेको यो क्षेत्र पूर्वी चितवनको चर्चित पर्यटकीय गन्तव्य पनि बनेको छ ।

बाढी रोक्ने अभियानबाट वनसम्म

राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ रेन्जर ऋषिराम सुवेदीका अनुसार २०४९ र २०५० सालतिर पूर्वी चितवनमा बाढीले ठूलो क्षति पुर्‍याएको थियो । हजारौँ बिघा जमिन डुबानमा परेको र करिब दुई हजार परिवार विस्थापित हुनुपरेको उनी बताउँछन् । प्रभावितमध्ये केही परिवारलाई खैरहनी नगरपालिका–२ को सिमरामा पुनःस्थापना गरिएको थियो ।

बाढी नियन्त्रणका लागि ड्याम बनाउने विषयमा पनि छलफल भएको तर बर्सेनि ड्याम थप्दै जाँदा स्रोत र जनशक्ति खर्चिलो हुने देखिएपछि स्थायी विकल्प खोजियो । स्थानीय लोकप्रसाद बुर्लाकोटी र दानबहादुर दाहालले प्राकृतिक अवरोध निर्माण गर्न सुझाएपछि वृक्षरोपणको योजना अघि बढ्यो । कोषले २०५० सालदेखि यस क्षेत्रमा वृक्षरोपण थालेको सुवेदी बताउँछन् ।

सुरुमा बाँस, सिसौ र भेलरका बिरुवा रोपिए । कुमरोजको जनकपुर क्षेत्रमा १५ कठ्ठा जमिनमा नर्सरी स्थापना गरी त्यहीँ उत्पादित बिरुवा विभिन्न प्लटमा वर्षैपिच्छे रोप्दै वन विस्तार गरिएको उनको भनाइ छ । सुरुका दिनमा भने संरक्षण अभियानलाई स्थानीयको साथ र विरोध दुवै भोग्नुपरेको थियो । चरन क्षेत्र साँघुरिएपछि असन्तुष्टि बढेको र रोपिएका बिरुवा हुर्काउनै नसकिने अवस्था रहेको सुवेदी सम्झन्छन् । एक दिन भैँसी चराइरहेका स्थानीयले आफूहरूलाई राप्तीमा बगाइदिने धम्कीसमेत दिएको उनी बताउँछन् ।

त्यसबेला यहाँ सिमलका केही रुख मात्र थिए र सिमलको फूल टिपेर बेच्ने चलन थियो । यस क्षेत्रलाई सौराहापछिको पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना स्थानीयलाई बुझाउँदै जाँदा उनीहरूको सोच बदलिँदै गएको सुवेदीको भनाइ छ । वृक्षरोपणसँगै मचान निर्माण र जंगलभित्र पर्यटकीय ट्र्याक खोल्ने काम भयो, जसले वन्यजन्तु अवलोकन र पर्यटन गतिविधि बढायो ।

२०४३ देखि २०५३ सालसम्म वृक्षरोपण कार्यक्रम निरन्तर चल्यो । २०५३ सालमा जिल्ला वन कार्यालयमा दर्ता भएपछि उपभोक्ता समितिमार्फत संरक्षणको जिम्मेवारी सुरु भएको वनका अध्यक्ष राजु सिलवाल बताउँछन् । २०५९ सालमा राष्ट्रिय निकुञ्जसँग जोडिएपछि वन पर्यटनमा थप सक्रिय बनेको उनको भनाइ छ ।

सफारी र पर्यटनबाट करोडौँ आम्दानी

२०५३ सालमै वनले हात्ती सफारी, जंगल वाक, जिप सफारी र डुङ्गा सयर सञ्चालनमा ल्याएको थियो । सुरुमा १० वटा जिपलाई मात्र अनुमति दिइएकोमा अहिले दैनिक करिब सय जिपले पर्यटकलाई जंगल घुमाउने गरेको वनको अभिलेख छ । जिप सफारी सुरु गर्ने पहिलो सामुदायिक वन कुमरोज भएको र यसको सफलतापछि अन्य सामुदायिक वनले पनि त्यही अभ्यास अपनाएको सुवेदी बताउँछन् ।

पर्यटक प्रवेश शुल्क, सफारी, मचान र कफीसप वनका मुख्य आयस्रोत हुन् । अध्यक्ष सिलवालका अनुसार गत आर्थिक वर्षमा वनले चार करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको थियो भने चालु आर्थिक वर्षमा सात करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ ।

शिक्षादेखि दाहसंस्कारसम्म वनको सहयोग

वनको सेवा क्षेत्रभित्र खैरहनी–१२ र १३ पर्छन्, जहाँ करिब तीन हजार घरधुरी छन् । वडा नम्बर १३ का अध्यक्ष कुलप्रसाद भुसालका अनुसार तीमध्ये करिब एक हजार घरधुरी आर्थिक रूपमा कमजोर, ३०० घरधुरी सुकुमवासी र ३०० घरधुरी अव्यवस्थित बसोबास गर्ने छन् । धेरै स्थानीयको आर्थिक निर्भरता वनसँग जोडिएको भए पनि होटल व्यवस्थापन, इलेक्ट्रिसियन र प्लम्बिङजस्ता सिपमूलक तालिम दिई पर्यटनतर्फ आयआर्जन बढाउने प्रयास भइरहेको उनको भनाइ छ ।

वनले आफ्नो आम्दानीको ठूलो हिस्सा सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ । अध्यक्ष सिलवालका अनुसार विपन्न परिवारको घर निर्माण, सडक ढलान तथा ग्राभेल, खानेपानी धारा जडान, सुत्केरी पोषण, दाहसंस्कार, स्वास्थ्य उपचार, शिक्षा, संस्कृति र खेलकुदमा सहयोग गरिन्छ । चालु वर्षमा शिक्षा क्षेत्रमा मात्रै २० लाख ५० हजार रुपैयाँ सेवा क्षेत्रका ६ विद्यालय र एक बाल विकास केन्द्रलाई दिइएको छ ।

यस्तै, ६ दुग्ध उत्पादक सहकारीमार्फत किसानले प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान पाउने गरेका छन् भने सदस्यको मृत्युमा दाहसंस्कारका लागि १० हजार रुपैयाँ दिइन्छ । मानव–वन्यजन्तु द्वन्द्वका लागि पनि वनले छुट्टै व्यवस्था गरेको छ — वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा किरिया खर्चबापत ५० हजार, घाइते भएमा बढीमा एक लाख रुपैयाँसम्म उपचार खर्च, र बाली तथा पशुचौपायामा क्षति पुगेमा मूल्याङ्कनका आधारमा ५० प्रतिशतसम्म राहत उपलब्ध गराइन्छ । बस्ती र वनको सिमानामा कङ्क्रिट वाल निर्माण गरी वन्यजन्तु बस्ती छिर्ने जोखिम घटाउने प्रयास पनि भइरहेको छ ।

हरेक वर्ष मानव–वन्यजन्तु द्वन्द्वका घटना हुने र त्यसबाट मानवीय क्षतिसमेत हुने गरेको वडाध्यक्ष भुसाल बताउँछन् । यस्तो जोखिमका बीच पनि स्थानीयले आगामी पुस्ताका लागि आम्दानीको स्रोतका रूपमा वन हस्तान्तरण गर्ने उद्देश्यले संरक्षणमा योगदान गरिरहेको उनको भनाइ छ ।

संरक्षण र पर्यटनको नमुना

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन कुमरोज मध्यवर्ती सामुदायिक वनलाई संरक्षण र पर्यटनको समन्वयबाट समुदायको आर्थिक विकास सम्भव भएको उदाहरणका रूपमा लिने गरेको बताउँछन् । उनका अनुसार वन संरक्षणसँगै पर्यटकीय गतिविधि विस्तार हुँदा रोजगारी सिर्जना, स्थानीय आम्दानी वृद्धि र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा योगदान पुगेको छ । वनलाई अझ व्यवस्थित बनाउन मचान निर्माण र वन्यजन्तु अवलोकनका लागि सहज वातावरण तयार गर्नुपर्नेमा उनले जोड दिएका छन् ।