मुख्य सामग्रीमा जानुहोस्

राराब क्याम्पसमा पाँच वर्षमा २० करोडभन्दा बढीको शुल्क हिनामिना, प्रमाण मेट्न जेनजी आन्दोलनमा आगजनी

करिब २० हजार विद्यार्थी अध्ययनरत राराब क्याम्पसमा पाँच आर्थिक वर्षको लेखा फाइल जाँच्दा २० करोडभन्दा बढी रकम हिनामिना भएको देखिएको छ। पहिलो अनुसन्धान टोलीले जम्मा गरेका रसिद दोस्रो टोली जनकपुर जानुअघि जलाइएको पाइएको छ।

विश्वपत्र संवाददाता

· ५ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
राराब क्याम्पसमा पाँच वर्षमा २० करोडभन्दा बढीको शुल्क हिनामिना, प्रमाण मेट्न जेनजी आन्दोलनमा आगजनी
Online Khabar

जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थीबाट उठाइएको शुल्क पछिल्ला पाँच आर्थिक वर्षमा २० करोड रुपैयाँभन्दा बढी हिनामिना भएको खुलासा भएको छ। यो घोटालाको प्रमाण मेटाउन २०८२ भदौमा भएको जेनजी आन्दोलनकै मौका लिइएर लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरिएको पनि भेटिएको छ। करिब २० हजार विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा देखिएको यो घोटाला त्रिविअन्तर्गत विद्यार्थीको शुल्कमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो भएको विश्वविद्यालयका अधिकारीहरू बताउँछन्।

घटना सुरु भएको २०८१ को माघ–फागुनतिरबाट हो, जब विद्यार्थीहरू परीक्षाको फाराम भर्न क्याम्पस पुगे। सेमेस्टरभरिको शुल्क लेखा शाखामा बुझाइसकेका र रसिद हातमा भएका केही विद्यार्थीलाई पुनः शुल्क तिरेपछि मात्र फाराम बुझाउन भनियो। क्याम्पसको रेकर्डमा भने उनीहरूको भुक्तानी कतै देखिएन। सुरुमा ३६ जनाले बुझाएको शुल्क बैंकमा दाखिला नगरी हिनामिना भएको भन्दै क्याम्पस प्रशासनमा निवेदन दिए। त्यसपछि सुरु भएको अनुसन्धानले भने केही विद्यार्थीको शुल्क हराएको सामान्य घटनाको रूप लिन छाड्यो।

क्याम्पसका लेखा फाइल तथा कागजातका आधारमा २०७७ साउन १ देखि २०८२ पुस मसान्तसम्मको अभिलेख जाँचिएको थियो। त्यसमा अधिकांश रकमको रसिद लेखा सहायक सञ्जय दासले काटेको देखिन्छ। क्याम्पसका अधिकारीहरूका अनुसार यति ठूलो रकम एक जनाको मात्र पहुँचमा सम्भव नहुने भएकाले तत्कालीन क्याम्पस प्रमुख, लेखा प्रमुख, त्रिविको आन्तरिक लेखा परीक्षण र महालेखाका परीक्षकहरूको भूमिकामाथि पनि प्रश्न उठेको छ।

रसिद जलाएर प्रमाण मेटाइयो

निवेदन परेपछि त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरले अनुसन्धानका लागि एउटा टोली राराब पठाएको थियो। उक्त टोलीले क्याम्पसमा पुगेर छरिएका रसिदहरू एकै ठाउँमा जम्मा गरी अध्ययन गर्‍यो, तर २४ घण्टाभित्रै काठमाडौँ फर्किएर प्रतिवेदन बुझायो। त्रिविका अधिकारीहरूका भनाइमा त्यो प्रतिवेदन विषयवस्तु छोप्ने खालको मात्र थियो। सन्तोषजनक नभएपछि त्रिविले दोस्रो टोली खटायो, तर त्यो टोली जनकपुरतर्फ लाग्नुअघि नै २०८२ भदौ २३–२४ गते जेनजी आन्दोलन भयो।

आन्दोलनका क्रममा क्याम्पस प्रमुखको कक्ष र लेखा शाखामा आगजनी भयो। क्याम्पसको अन्य कुनै कार्यालयमा आगो लगाइएको थिएन। पहिलो टोलीले जम्मा गरेका अधिकांश रसिद आगोमै जले। क्याम्पसका शिक्षक, कर्मचारी र विद्यार्थीहरूले आगजनीको लक्ष्य केवल यही घोटालाको प्रमाण नष्ट गर्नु रहेको बताउँछन्। एक शिक्षकका अनुसार पहिलो टोलीले सबै रसिद एकै ठाउँमा संकलन गरेको थियो र दोस्रो टोली आउनुअघि आन्दोलनको बहानामा लेखा शाखा तथा क्याम्पस प्रमुखको कोठामा मात्र आगो लगाइयो। उनको दाबी छ, यो काम दासकै निर्देशनमा भएको हो र त्यसमा केही विद्यार्थी पनि प्रयोग भए।

आगजनीपछि बचेका रसिदकै आधारमा दासले ६ करोड २४ लाख रुपैयाँ हिनामिना गरेको प्रमाण भेटिएको छ। क्याम्पसका कागजातअनुसार हिनामिनाका शैली यी हुन् :

  • विद्यार्थीलाई दिइएको रसिद र अफिस कपी (ओसी) मा फरक रकम देखाई ४ करोड १४ लाख

  • रसिदमा उल्लेख गरिए पनि बैंकमा दाखिला नगरी १ करोड २७ लाख

  • शुल्क मिलानको नाममा १० लाख ७० हजार

  • रसिद नम्बर नै नराखी लिइएको ४ लाख ९९ हजार

  • एउटै रसिद फरक–फरक व्यक्तिका नाममा काटी २८ लाख ६७ हजार

  • क्याम्पस प्रति नभएको रसिदबाट रकम लिई ३८ लाख ५० हजार

यसबाहेक थप २२ प्याडमा रहेका २२ सय रसिदबाट पनि शुल्क उठाइएको देखिन्छ, तर ती रसिद यही आन्दोलनमा जलाइएकाले कुन विद्यार्थीबाट कति रकम संकलन भयो भन्ने स्पष्ट छैन। औसतका आधारमा हेर्दा पनि कम्तीमा १३ देखि १४ करोड रुपैयाँको थप हिनामिना भएको त्रिविका अधिकारीहरूको दाबी छ। बीबीए, बीआईटी, सीएसआईटी, बीए, बीएस्सी माइक्रोबायोलोजीजस्ता आठ सेमेस्टर चल्ने कोर्समा दासले प्रतिरसिद ५६ हजारदेखि ६० हजारसम्म शुल्क उठाएको पाइन्छ। जरिवानासहित रकम फिर्ता गराउने हो भने कुल हिनामिना २० करोडभन्दा माथि पुग्ने अधिकारीहरूको भनाइ छ।

नगद संकलन र बैंकको हिसाब

दास २०७३ सालमा स्थायी दरबन्दीमा राराबको लेखा शाखामा आएका थिए र क्याम्पसमा उनको काम गरेको करिब १० वर्ष भयो। अनियमितताको छानबिन सुरु भएपछि उनलाई क्याम्पसकै अर्को शाखामा सरुवा गरिएको थियो। २०८२ कात्तिकमा फाइल चोर्ने उद्देश्यले उनकै नेतृत्वमा एक टोली लेखा शाखाको कोठामा पसेको, तर सीसी क्यामेरामा देखिएपछि उनीहरूलाई बाहिर निकालिएको क्याम्पसका एक कर्मचारी बताउँछन्। त्यसपछि क्याम्पस प्रशासनले जिल्ला प्रहरी कार्यालय धनुषामा दासविरुद्ध आपराधिक उपद्रव मुद्दामा किटानी जाहेरी दियो। प्रहरीको रेकर्डअनुसार २०८२ कात्तिक २७ मा उजुरी दर्ता भएपछि उनी पक्राउ परे र मंसिर १० मा ३० हजार रुपैयाँ धरौटीमा रिहा भए। मुद्दा चलिरहेकाले हाजिर गर्न दिने वा नदिनेबारे त्रिविलाई सोधिएको जवाफ नआएको र उनी क्याम्पस नआएको क्याम्पस पक्षको भनाइ छ।

क्याम्पस हातामै २०७९ कात्तिक ४ गतेदेखि बैंक काउन्टर सञ्चालनमा छ। त्यसो हुँदाहुँदै दासले विद्यार्थीबाट नगदै रकम लिने गरेका थिए। हिनामिनाकै उद्देश्यले नगद लिइएको र शुल्क बैंकमा दाखिला नै नभएको पछि मात्र थाहा भएको कर्मचारीहरू बताउँछन्। उनले रसिद काट्दा विद्यार्थीको पूरा नाम, रोल नम्बर, संकाय र कुन बापतको शुल्क हो भन्ने विवरण अपुरो राख्ने, अंक नबुझिने वा गणितीय त्रुटि देखिने गरी लेख्ने गरेका थिए। रसिदको पहिलो सेतो पानामा यथार्थ रकम उल्लेख गरे पनि ओसीमा भने कम रकम कायम गरिन्थ्यो। बीबीए दोस्रो सेमेस्टरको ४५ हजार ५०० रुपैयाँ शुल्क लिँदा विद्यार्थीको रसिदमा सोही रकम उल्लेख भए पनि ओसीमा कतै ४५० र कतै ४ हजार ५०० मात्र देखिएको छ। आर्थिक वर्ष २०८२/०८३ को रसिद नं. १२२३४७ बाट बीबीएका एक विद्यार्थीसँग ४५ हजार ५०० बुझिएको र सोही नम्बरको रसिदबाट बीएस्सी सीएसआईटीका अर्का विद्यार्थीसँग पनि रकम लिइएको भेटिएको छ।

हिनामिनाका कारण बर्सेनि बैंकमा दाखिला हुनुपर्ने शुल्क घट्दै गए पनि क्याम्पस प्रशासनले त्यतातिर ध्यान दिएको देखिँदैन। बीबीए, बीआईटी, सीएसआईटी, बीए र बीएस्सी माइक्रोबायोलोजीका विद्यार्थीबाट आर्थिक वर्ष २०७७/०७८ मा २ करोड ७९ लाख दाखिला हुनुपर्नेमा २५ लाख २४ हजार मात्र दाखिला भयो। २०७८/०७९ मा ४ करोड १५ लाखको सट्टा ६५ लाख ४९ हजार, २०७९/०८० मा ४ करोड १२ लाखको सट्टा १ करोड ३१ लाख र २०८०/०८१ मा ३ करोड ५९ लाखको सट्टा १ करोड ४७ लाख मात्र बैंकमा पुग्यो। आर्थिक वर्ष २०८१/०८२ मा दाखिला हुनुपर्ने २ करोड ५६ लाखमध्ये एक रुपैयाँ पनि बैंकमा नपुगेको देखिन्छ। यी पाँच वर्षमा गरी १३ करोड ५३ लाख रुपैयाँ हिसाबमा नभेटिएको छ।

प्रतिवेदन आयो, कारबाही छैन

घोटालाको अवधिभर साढे चार वर्ष क्याम्पस प्रमुख रहेका प्रदीप प्रसादले भने लेखा प्रमुखले हेर्ने हिसाबकिताब आफ्नो जिम्मेवारी नभएको प्रतिक्रिया दिएका छन्। दास लेखा प्रमुख मातहत काम गर्ने र रसिद काटेपछि बैंकमा बुझाएको वा नबुझाएको रेकर्ड लेखा प्रमुखले हेर्ने भन्दै उनले आफूलाई जानकारी नदिइएको दाबी गरे। उनले प्रत्येक वर्ष त्रिविबाट आउने आन्तरिक लेखा परीक्षण र महालेखाको टोलीले हप्ता–दस दिन बसेर प्रतिवेदन बुझाउने गरेको भए पनि त्यसमा यी विषय किन उठेनन् भनी प्रश्न गरेका छन्। तत्कालीन लेखा प्रमुख देवेन्द्र शाहले भने आफू निमित्त (कायममुकायम) मात्र भएकाले यसबारे जानकारी नभएको जिकिर गरेका छन्। आफ्नो समयमा ८ जना कर्मचारी हुनुपर्नेमा एक्लै काम गर्नुपरेको र रसिद काट्ने अर्कै व्यक्ति रहेको उनको भनाइ छ।

त्रिविबाट खटिएको दोस्रो अनुसन्धान टोलीले पनि प्रतिवेदन बुझाइसकेको छ, जसमा दासलाई नै मुख्य दोषी ठहर गरिएको त्रिविका एक अधिकारीले बताएका छन्। प्रतिवेदनमा ६ करोड २४ लाख तत्काल फिर्ता गर्नुपर्ने र १३ देखि १४ करोड बराबरको रसिद नभेटिएको उल्लेख गर्दै दोषीलाई कारबाहीको सिफारिस गरिएको छ। क्याम्पस प्रमुख प्रा.डा. बसन्तकुमार कर्ण आफूहरू केन्द्रको निर्णय कुरिरहेको बताउँछन्। उनी २०८१ माघ २ गते क्याम्पस प्रमुखमा पदस्थापन भएका थिए। हालसम्म दासविरुद्ध भने कुनै कारबाहीको प्रक्रिया अघि बढेको छैन, जबकि त्रिविको शिक्षक–कर्मचारीसम्बन्धी नियमले भ्रष्टाचार वा अनियमितता गर्नेलाई सेवाबाट हटाउन सक्नेसम्मको अधिकार दिएको छ। घोटालामा अन्य को संलग्न छन् भन्नेबारे पनि खोजी भएको छैन।

त्रिविका उपकुलपति प्रा.डा. भोला थापा आफू जिम्मेवारीमा आएपछि समितिले प्रतिवेदन बुझाएको र अब कानुनबमोजिम कारबाही गरिने बताउँछन्। विश्वविद्यालयमा सुशासन कायम गर्नु मुख्य उद्देश्य रहेको र जहाँजहाँ अनियमितता भएको छ त्यहाँ छानबिन हुने उनको भनाइ छ।