भारतले पहिलोपटक हाइड्रोजन रेल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हरियाणाको जिन्द रेलवे स्टेसनबाट ‘नमो ग्रिन रेल’ नामक उक्त रेलको उद्घाटन गरेका हुन्। यस रेलको सञ्चालनले नेपालमा पनि हाइड्रोजन–आधारित सवारी साधनको विकास र नियमनमा चासो बढेको छ।
हाइड्रोजन रेल हरियाणाको जिन्द–सोनीपत ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ। यसको न्यूनतम भाडा भारु ५ र अधिकतम भारु २५ तोकिएको छ। रेलमा दुई हजार छ सय यात्रु बोक्ने क्षमता छ। यो रेल विद्युतीकरणविना नै चल्ने भएकाले यसलाई स्वच्छ र दिगो मानिएको छ।
प्रविधि र सुरक्षा
रेलभित्र ‘प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल’ जडान गरिएको छ, जसले हाइड्रोजन र वायुमण्डलबाट प्राप्त अक्सिजनबीचको रासायनिक प्रतिक्रियाबाट विद्युत् उत्पादन गर्छ। यस प्रक्रियाबाट जलवाष्प र ताप मात्र निस्कने भएकाले कार्बन उत्सर्जन हुँदैन। रेलमा दुईवटा ‘हाइड्रोजन ड्राइभिङ पावर कार’ र आठ ट्रेलर कोच छन्। प्रत्येक पावर कारले १ हजार २ सय किलोवाट विद्युत् उत्पादन गर्नेछ। रेलको डिजाइन गति ११० किलोमिटर प्रतिघण्टा छ, तर प्रारम्भिक सञ्चालन गति ७५ किलोमिटर प्रतिघण्टा तोकिएको छ।
हाइड्रोजन अत्यधिक ज्वलनशील भएकाले सुरक्षामा विशेष ध्यान दिइएको छ। रेल तथा रिफ्युलिङ केन्द्रमा हाइड्रोजन चुहावट, ताप, आगो र धूवाँ पत्ता लगाउने सेन्सर जडान गरिएको छ। कुनै असामान्य अवस्था देखिए हाइड्रोजन आपूर्ति स्वतः बन्द हुने प्रणाली राखिएको छ। आकस्मिक अवस्थामा रेललाई सुरक्षित स्थानसम्म लैजान सकिने सुविधा तथा वास्तविक समयमा निगरानी गर्ने डिजिटल प्रणाली पनि उपलब्ध गराइएको छ।
नेपालमा हाइड्रोजन सवारीको तयारी
भारतमा हाइड्रोजन रेल सञ्चालनमा आएसँगै नेपालमा पनि हाइड्रोजन–आधारित सवारीको सम्भावनाबारे बहस सुरु भएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमै ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी अघि सारिएको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालयले मुलुकमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमन गर्न आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्न सुझाव मागेको छ।
मन्त्रालयले २० साउनसम्म विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा सम्बन्धित सरोकारवालाहरूबाट लिखित सुझाव बुझाउन आग्रह गरेको छ। सुझावमा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड, उत्पादन, भण्डारण, ढुवानी, वितरण तथा इन्धन भर्ने पूर्वाधारसम्बन्धी विषय समेटिनुपर्ने उल्लेख छ।
भारतको हाइड्रोजन रेललाई राष्ट्रिय हरित हाइड्रोजन अभियान तथा दीर्घकालीन शून्य कार्बन उत्सर्जनको लक्ष्यतर्फको महत्त्वपूर्ण कदम मानिएको छ। नेपालले पनि अन्तर्राष्ट्रिय अभ्यास र सुझाव संकलन गरी हाइड्रोजन प्रविधिको विकासलाई अघि बढाउने योजना बनाएको छ।
