कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका १७ जना महिला आइतबार साँझदेखि सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, निकुञ्जका कर्मचारी तथा स्थानीय सहित ठूलो जनशक्ति परिचालन गरिएको छ। खोजीमा हात्ती र ड्रोनको समेत प्रयोग भइरहेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार खोजी कार्यमा निकुञ्जका नौवटै पालुवा हात्ती परिचालन गरिएको छ। ड्रोनको प्रयोग गरी हावाबाट पनि खोजी भइरहेको छ। तर वर्षाका कारण जंगलमा घाँस ठूलो भएको र पदचाप मेटिएकाले खोजीमा कठिनाइ भइरहेको उनले बताए।
सम्पर्कविहीन हुनेमा भीमदत्त नगरपालिका–१९ बाग्फाँटाका ११, बेदकोट नगरपालिका–१० चतहरीकी ३ तथा बेलडाँडीका ३ गरी १७ जना महिला रहेका छन्। बेलडाँडीबाट गएका महिलाहरूले सिमलको रुखमा बसेको जानकारी प्रहरीलाई दिएका छन् भने अन्य समूहको अझै पत्तो छैन।
निकुञ्ज संरक्षण अधिकृत वाग्लेले वर्षा याममा च्याउ टिप्न ठूलो संख्यामा स्थानीय लुकिछिपी जंगल पस्ने गरेको बताए। उनले समूहमा भएकाले महिलाहरू सुरक्षित रहेको र निकुञ्जभित्र रहेका मचानमा बसेको हुन सक्ने अनुमान गरे। खोजी कार्य जारी रहेको छ।
