वैशाखदेखि कात्तिक १५ गतेसम्मको अवधिमा देशभर विपद्जन्य घटनाको संख्या ७ हजार ६८८ पुगेको छ। यी घटनामा परी ४०२ जनाको ज्यान गएको छ भने १७ जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कले देखाएको छ।
प्राधिकरणका अनुसार सो अवधिमा सर्पदंश, पहिरो, बाढी, चट्याङ, आगलागी, ले लाग्ने, वन्यजन्तुको आक्रमण, हिउँपहिरो, हुरीबतास, अतिवृष्टि, डुङ्गा पल्टिने, वन डढेलो, विस्फोटन, असिना र भूकम्पलगायतका सबै प्रकारका विपद् भएका छन्।
पहिरो र सर्पदंश अगाडि
प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार पहिरोका सबैभन्दा धेरै एक हजार ७३५ घटना भएका छन्। त्यसपछि सर्पदंशका एक हजार ६६८ र आगलागीका एक हजार ६४१ घटना दर्ता भएका छन्।
अतिवृष्टिका ५९३, हुरीबतासका ५३७, बाढीका ४६६, वन्यजन्तुको आक्रमणका ४१७ र चट्याङका ३३३ घटना भएका छन्। यसैगरी वन डढेलोका १९२, ले लाग्नेका ७९, भूकम्पका नौ, हिउँपहिरोका छ, असिनाका चार, डुङ्गा पल्टिनेका दुई र विस्फोटनको एक घटना भएको प्राधिकरणले जनाएको छ। अन्य पाँच घटना पनि सूचीमा परेका छन्।
सर्पदंशबाट सबैभन्दा धेरैको मृत्यु
विपद्का कारण भएको मृत्युमा सर्पदंश पहिलो स्थानमा छ। सर्पदंशबाट ११६ जनाको ज्यान गएको छ। पहिरोले ७७, बाढीले ४१, चट्याङले ३६ र आगलागीले ३२ जनाको मृत्यु भएको छ।
यसैगरी ले लागेर २७, वन्यजन्तुको आक्रमणबाट २३, हिउँपहिरोबाट १९ र हुरीबतासबाट १६ जनाको ज्यान गएको छ। अतिवृष्टिबाट सात, डुङ्गा पल्टिएर पाँच, वन डढेलो र विस्फोटनबाट एक-एक जनाको मृत्यु भएको तथा अन्य घटनामा पाँच जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।
सो अवधिमा विपद्बाट दुई हजार ५२९ जना घाइते भएका छन्। विस्थापित हुने परिवारको संख्या नौ हजार ८५७ रहेको छ।
यसैबीच भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीको विस्तृत क्षति विवरण प्रणालीमा समावेश गर्न बाँकी रहेकाले सो विवरण यो तथ्याङ्कमा समेटिएको छैन।







