तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ कार्यान्वयनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पर्वका बेला शान्ति र सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न यो योजना लागू गरिएको हो ।
चाडपर्वका समयमा बढ्नसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी र झैझगडा जस्ता घटना रोक्न आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा निगरानी र चेकजाँचलाई पहिलेभन्दा तीव्र बनाइएको छ ।
आगलागी र विस्फोटक पदार्थमा विशेष निगरानी
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार तिहारमा बालिने दियो, बत्ती तथा पटाकाबाट आगलागी र दुर्घटनाको जोखिम हुने भएकाले दमकल तथा विपद् व्यवस्थापन टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ । पटकालगायत प्रज्ज्वलनशील र विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण तथा बिक्रीवितरण नियन्त्रण गर्न सीमानाका, भन्सार क्षेत्र र बजारमा छुट्टै चेकिङ टोली खटाइएको उनले बताए ।
देउसी–भैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।
जुवा, मादक पदार्थ र चर्को आवाजमा कडाइ
जुवातास तथा अन्य अवाञ्छित गतिविधि हुनसक्ने क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । पर्वका नाममा अनियन्त्रित मादक पदार्थ सेवन र जुवातासले घरेलु हिंसा, कुटपिट तथा व्यक्तिगत झगडा निम्त्याउनसक्ने भएकाले त्यस्ता गतिविधिमा विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ ।
राति अबेरसम्म चर्को आवाजमा डिजे तथा साउण्ड सिस्टम बजाउने, पटका पड्काउने र आतिशबाजी गर्ने क्रमबाट वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई पर्नसक्ने असरलाई मध्यनजर गरी निगरानी बढाइएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
चाडपर्वका अवसरमा हुने र्याली, जुलुस तथा शोभायात्राका क्रममा दुई समुदायबीच विवाद वा झडप हुनसक्ने सम्भावनालाई ध्यानमा राखी सुरक्षा व्यवस्था थप मजबुत पारिएको उनको भनाइ छ । मेला तथा सार्वजनिकस्थलमा प्लास्टिक, फूलमाला र पूजा सामग्रीको अव्यवस्थित विसर्जनबाट हुने जल तथा स्थल प्रदूषण रोक्न पनि सम्बन्धित पक्षसँग समन्वय गरी सचेतना फैलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
पटका नपड्काउन, जुवातास तथा सट्टेबाजी नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र शान्तिपूर्ण रूपमा पर्व मनाउन स्थानीय रेडियो, पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत सचेतनामूलक सन्देश प्रवाह गरिएको छ ।
प्रवक्ता काफ्लेले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सधैं साथमा रहेको बताए । पटका तथा आतिशबाजीबाट आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिको क्षति र वातावरणीय प्रदूषण हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल नजिकको प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न तथा घाइतेको शीघ्र उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गर्न प्रहरीले आग्रह गरेको छ । अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको देखेमा प्रहरीको हटलाइन १०० मा जानकारी दिनसमेत अनुरोध गरिएको छ ।







