कक्रोच जनता पार्टी (सीजेपी) को आह्वानमा नयाँदिल्लीको जन्तर-मन्तरमा सोमबार 'चलो संसद्' मार्च सुरु भएको छ । ठूलो संख्यामा भेला भएका प्रदर्शनकारी संसद् भवन जान लाग्दा सुरक्षाकर्मीले बीचमै रोक्ने प्रयास गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न लाठीचार्जसमेत गरेको छ ।
दिल्ली प्रहरीले मार्चका लागि अनुमति दिन नसकिने बताउँदै आएको छ । सोमबारदेखि नै संसद्को मनसुन सत्र सुरु हुन लागेकाले प्रदर्शनकारी संसद् भवन पुगेर आफ्ना माग राख्न चाहन्थे । प्रहरीले मार्चको अनुमति नदिए पनि सीजेपीका समर्थकहरू जन्तर-मन्तरमा जम्मा भएर संसद् भवनतर्फ अघि बढेका थिए ।
विपक्षी दलका नेताहरूको सहभागिता
मार्चमा विभिन्न विपक्षी दलका नेताहरू पनि सहभागी थिए । आजाद समाजवादी पार्टी (काशीराम) का प्रमुख चन्द्रशेखर आजाद, तृणामूल कांग्रेसकी सांसद महुवा मोइत्रा, आम आदमी पार्टीका नेता आतिशी, मनीष सिसोलिया र सञ्जय सिंह लगायत मार्चमा उपस्थित थिए । दिल्लीकी पूर्वमुख्यमन्त्रीसमेत रहेकी आतिशीले प्रदर्शनमा सहभागिता जनाएकी थिइन् ।
कलाकारहरूको समर्थन
विद्यार्थीहरूको आन्दोलनलाई बलियो समर्थन गर्दै चलचित्र क्षेत्रका कलाकारहरू पनि मार्चमा सहभागी भए । अभिनेता प्रकाश राज, सबाना आजमी, विशाल ददलानी, सोनाक्षी सिन्हा र स्वरा भाष्करले पनि प्रदर्शनलाई समर्थन जनाएका छन् ।
प्रहरीको दाबी : करिब आठ हजार सहभागी
दिल्ली प्रहरीले सीजेपीको मार्चमा करिब आठ हजार मानिस सहभागी रहेको दाबी गरेको छ । तीव्र सुरक्षा व्यवस्था गरिएको क्षेत्रमा प्रदर्शनकारीहरू भेला भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । यसैबीच, जन्तर-मन्तरमा २३ दिनपछि तीन विद्यार्थीले आमरण अनशन तोडेका थिए ।
