हलेदे–धोबी–सिरिसे–ढाडे सडक पहिरोका कारण अवरुद्ध भएको छ । यो सडक रामेछाप हुँदै ओखलढुंगाको पोकलीसम्म जोड्ने प्रमुख मार्ग हो । यही मार्ग हुँदै दैनिक रूपमा स्थानीय तथा लामो दूरीका सवारी सञ्चालन हुन्छन् । पहिरोले गर्दा काठमाडौँका लागि छुटेका सवारी रोकिएका छन् ।
गुणस्तरहीन निर्माणको समस्या
सोही सडकको तिल्पुङ खण्डमा गत आर्थिक वर्षको अन्त्यतिर गरिएको कालोपत्र गुणस्तरहीन रहेको पाइएको छ । वडासदस्य आले मगरका अनुसार बागमती प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय रामेछापमार्फत गौरीशङ्कर–रूपाकाली जेभीले ४.२ किलोमिटर सडक कालोपत्र गरेको थियो ।
२०८० असार १८ गतेदेखि सुरु भएको निर्माण २०८२ असारभित्र सम्पन्न भए पनि कालोपत्र एक महिनामै ठाउँ–ठाउँमा उप्किएको, सडक भाँसिएको तथा भित्तामा निर्माण गरिएका संरक्षण संरचना भत्किन थालेका थिए ।
गुणस्तरहीन निर्माणका कारण सडकका धेरै स्थान जोखिममा छन् । कतिपय ठाउँमा बस्तीसमेत जोखिममा परेको छ । निर्माण गरिएका नालाबाट पानी चुहिँदा विभिन्न स्थानमा पहिरो जाने अवस्था बनेको छ । यसबारे पटक–पटक पूर्वाधार विकास कार्यालय रामेछापलाई जानकारी गराए पनि आवश्यक चासो दिइएन — वडासदस्य आले मगर
लगातारको वर्षासँगै सडकको कमजोर संरचनाले थप क्षति निम्त्याएको उनको भनाइ छ ।
