कर्णाली प्रदेशमा मनसुन सक्रिय भएसँगै सडक यात्रा झनै जोखिमपूर्ण बनेको छ। पहिरो, बाढी र पुलको अभावले यात्रुलाई निकै कठिनाइ भइरहेको स्थानीय बताउँछन्।
रुकुम पश्चिमका कुबेरजंग खत्रीले वर्षायाममा यात्रा गर्दा कतिबेला पहिरो खस्ने वा गाडी फस्ने अनिश्चित रहेको बताए। ‘सडक भएर मात्र हुँदैन, त्यो सुरक्षित पनि हुनुपर्छ,’ उनले भने, ‘हरेक बर्खामा लामो दूरीको यात्रा निकै कष्टकर हुन्छ।’
दुर्घटना तथ्याङ्क
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा प्रदेशभर ३ हजार २३० सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३८३ जनाको मृत्यु भएको छ भने ८ हजार ४६२ जना घाइते भएका छन्।
कार्यालय प्रमुख हरिबहादुर विसीका अनुसार अधिकांश दुर्घटना दुईपांग्रे सवारी साधनमा भएका हुन्। मानवीय त्रुटिलाई दुर्घटनाको प्रमुख कारण मानिए पनि कमजोर सडक अवस्थाले जोखिम बढाएको उनको भनाइ छ।
सुरक्षाका प्रयास
सल्यानका यातायात व्यवसायी अनिल श्रेष्ठले सवारी साधनको नियमित प्राविधिक परीक्षण र टिकट काउन्टरबाट मात्र यात्रा गर्न आग्रह गर्दै सुरक्षित यात्राको प्रयास भइरहेको बताए। सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख खुमबहादुर भण्डारीले वर्षायाममा सडक खुला राख्न निर्माण सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए।
जाजरकोटका प्रहरी प्रमुख बुद्धीबहादुर पुरीले वर्षायाममा सवारी जाँच कडा पारिएको र चालकलाई परामर्श दिइरहेको बताए। ‘आवतजावतमा अवरोध भएको जानकारी पाउनासाथ सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाउने प्रयास गर्छौं,’ उनले भने।
स्थानीयका अनुसार कर्णालीमा सडक सञ्जाल विस्तार भए पनि अधिकांश सडक अझै सुरक्षित र भरपर्दो बन्न सकेका छैनन्। वर्षायाममा पहिरो, बाढी र सडक अवरुद्ध हुने समस्या दोहोरिरहँदा यात्रा जोखिमपूर्ण र अनिश्चित बनेको उनीहरूको गुनासो छ।

