मुख्य सामग्रीमा जानुहोस्

पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुलतबीमा नराख्ने विशेष अदालतको आदेश

पूर्वअर्थमन्त्री रामशरण महतविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुने भएको छ। अदालतले महतको स्वास्थ्य अवस्थाका आधारमा मुद्दा मुलतबीमा राख्न माग गरिएको निवेदन अस्वीकार गरेको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुने भएको छ। विशेष अदालतले मंगलबार मुद्दालाई मुलतबीमा राख्न अस्वीकार गर्दै कानुनबमोजिम अघि बढाउन आदेश दिएको हो।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले महतकी पत्नी रोशना महतले दिएको निवेदन खारेज गरेको हो। निवेदनमा महतको स्वास्थ्य अवस्था खराब रहेको र अदालतमा उपस्थित हुन नसक्ने उल्लेख गरिएको थियो। तर इजलासले स्वास्थ्य परीक्षण प्रतिवेदनको आधारमा पनि मुलतबीमा राख्न आवश्यक नदेखिएको ठहर गरेको छ।

यसअघि अदालतले महतको स्वास्थ्य जाँचका लागि अस्पतालसँग प्रतिवेदन माग गरेको थियो। निवेदनमा विगत दुई वर्षदेखि महत गम्भीर मानसिक तथा शारीरिक समस्याका कारण होस ठेगानमा नरहेको दाबी गरिएको थियो। तर अदालतले उक्त दाबीलाई पर्याप्त नमानी कानुनबमोजिम अघि बढ्न आदेश दिएको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा महतसहित पाँच जना मन्त्री, दस जना पूर्वसचिव, ५५ जना व्यक्ति र एक कम्पनीलाई प्रतिवादी बनाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अन्य प्रतिवादीहरू पहिल्यै उपस्थित भइसकेका छन् भने महत स्वास्थ्य कारण देखाउँदै उपस्थित हुन सकेका थिएनन्।