क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार नेदरल्यान्ड्सको उट्रेच्टमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ । यो हारसँगै लिग २ मा नेपालको शीर्ष चारमा पुग्ने सम्भावना झनै कमजोर बनेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा मात्र १५७ रनमा अलआउट भयो ।
लिग २ को अंक तालिका
नेपालले २९ खेलमा २४ अंक जोडेको छ र आठ टोलीको प्रतियोगितामा पाँचौं स्थानमा छ । शीर्ष चारमा अमेरिका (४३ अंक), स्कटल्यान्ड (३८), नेदरल्यान्ड्स (३२) र ओमान (३१) रहेका छन् । नेपाल, नामिबिया र क्यानडा सबैको समान २४ अंक रहे पनि नेट रन रेटको आधारमा नेपाल पाँचौं स्थानमा छ । यूएई १४ अंकसहित पुछारमा छ । लिग २ का शीर्ष चार टोली सिधै विश्वकप छनोटमा पुग्ने प्रावधान छ । नेपालले अब ७ खेल खेल्न बाँकी छ ।
ब्याटिङ विफलता र नामिबियाको सहज जित
नेपाली ब्याटिङको लगातार कमजोर प्रदर्शन यस खेलमा पनि देखियो । ओपनर कुशल भुर्तेल पहिलो ओभरमै बोल्ड भए भने इशान पाण्डे ८ रनमा आउट भए । आसिफ शेख १६ रन बनाएर बाउन्ड्री लाइनमा क्याच भए । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा ५३ रनको साझेदारी गरे तर त्यसपछि विकेटको पतन भयो । रोहित ६० बलमा ३१ रन बनाएर पवेलियन फर्के भने दीपेन्द्र ५१ बलमा ३० रन बनाएर बर्नार्ड स्कोल्ट्जको शिकार भए । नामिबियाका जेजे स्मिटले ९.५ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । स्कोल्ट्जले २ विकेट लिए । नेपालले आफ्नो इनिङ्समा जम्मा ६ चौका र २ छक्का मात्र प्रहार गर्यो ।
१५८ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८ ओभरमा २ विकेट गुमाएर जित हासिल गर्यो । सन्यास फिर्ता लिएर पुनरागमन गरेका माइकल भान लिङ्गेनले ७९ बलमा ५१ रन बनाए । उनलाई रोहित पौडेलले बोल्ड गरे । तर यान फ्राइलिन्कले ८९ बलमा ८ चौका र १ छक्कासहित अविजित ७८ रन बनाएर टोलीलाई जित दिलाए । नेपालका नन्दन यादवले एलेजान्डर बुसिङ भोलसेन्कलाई २ रनमा आउट गरे पनि त्यो क्षणिक सफलता मात्र साबित भयो ।
नेपालले अब बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग २ मा नेपालले विदेशी भूमिमा खेलेको १७ खेलमध्ये यो ११औं हार हो ।



