हिमाली जिल्लाका हजारौँ परिवारको मुख्य आयस्रोत रहेको यार्सागुम्बा संकलन यस वर्ष निकै प्रभावित भएको छ । जुम्ला, मुगु, डोल्पालगायत कर्णाली क्षेत्रका संकलकहरूले उत्पादनमा उल्लेख्य गिरावट आएको बताएका छन् । कठिन हिमाली बाटो पार गरेर पाटन पुग्ने संकलकले लगानीसमेत उठाउन नसकेपछि भारत जान बाध्य भएको चिन्ता व्यक्त गरेका छन् ।
लालिरामको पीडा : पाँच दिनको यात्रा, तीन सय ५५ वटा यार्सा
जुम्लाको पातारासी गाउँपालिका–३, हुरी गाउँका ३३ वर्षीय लालिराम बुढाले १७ वर्षदेखि यार्सा संकलन गर्दै आएका छन् । यस वर्ष उनी जेठ २८ गते साथीहरूसँग मुगुको ठूलो मैथान पाटन पुगेका थिए । पाँच दिनसम्म कठिन बाटो पार गर्दै करिब ३५ हजार रुपैयाँ खर्च गरेर पुगेका उनले जेठ ३ गतेदेखि यार्सा संकलन सुरु गरे । तर असार ६ गतेसम्म जम्मा ३ सय ५५ वटा यार्सा मात्रै हात लाग्यो । उचित मूल्य नपाएपछि उनले ती यार्सा बेच्न सकेनन् र सबै घरमै ल्याए । गत वर्ष उनले यार्साबाट ४ लाख ८६ हजार रुपैयाँ कमाएका थिए भने यस वर्ष ५० हजार पनि बचत गर्न कठिन भयो ।
लालिरामले नौ वर्षअघि एसएलसी उत्तीर्ण गरे पनि कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा पढ्न सकेनन् । बुबाको निधनपछि परिवारको जिम्मेवारी उनकै काँधमा आएको छ । अहिले जुम्ला सदरमुकाममा गेटपालको काम गरेर मासिक १३ हजार रुपैयाँ कमाउँछन्, तर त्यसले परिवार धान्न नसकिने भएकाले यार्सा संकलनमा जान बाध्य छन् ।
मनोज र कल्पना : ३० हजार खर्च, दस वटा यार्सा
जुम्लाकै सिंजा गाउँपालिका–६ का मनोज बुढा र उनकी श्रीमती कल्पना पनि दुई साता मुगुको पाटनमा बसे । करिब ३० हजार रुपैयाँ खर्च गरेर पुगेका उनीहरूले जम्मा दस वटा यार्सा संकलन गरे । पाटनमा चिसोका कारण कल्पना दुई दिन बिरामी परिन् । गत वर्ष ५० हजार रुपैयाँ आम्दानी गरेका उनीहरूले यस वर्ष लगानीसमेत उठाउन सकेनन् । प्रतिगोटा दुई सय ५० देखि तीन सय रुपैयाँ मात्रै मूल्य तोकिएपछि बिक्री नगरी घरमै ल्याए ।
मनोजका अनुसार यार्साबाट जीविकोपार्जन गर्न नसकिने अवस्था आएपछि भारत गएर मजदुरी गर्नुबाहेक अर्को विकल्प देखिएको छैन ।
युवाको सपनामा पनि संकट
सुर्खेतबाट कक्षा १२ उत्तीर्ण गरेकी बिमा रोकाया कोरियन भाषा कक्षा र स्नातक अध्ययनको खर्च जुटाउन यार्सा संकलनमा गएकी थिइन् । १२ हजार रुपैयाँ खर्च गरेर पुगेकी उनले जम्मा चार वटा यार्सा मात्रै भेटाइन् । गत वर्ष ८४ वटा यार्सा बेचेर ६० हजार रुपैयाँ कमाएकी बिमा यस वर्ष रित्तो हात फर्किनुपर्यो ।
सिंजा गाउँपालिका–५ की बिस्नकली बुढाले पनि साढे नौ हजार खर्च गरेर पाटन पुगेकी थिइन् । उनले सात वटा यार्सा मात्रै पाइन् । उचित मूल्य नपाएपछि ती यार्सा दाजुलाई औषधिका लागि दिइन् । स्नातक पूरा गरेकी बिस्नकलीले लोकसेवा आयोगको तयारी गर्ने योजना बनाएकी थिइन्, तर यस वर्ष यार्साबाट खर्च जुटाउन सकिनन् ।
जलवायु परिवर्तन र वन विनाशको असर
स्थानीयका अनुसार पर्याप्त वर्षा नहुनु, जलवायु परिवर्तन, वन विनाश, बढ्दो मानवीय चाप, आगलागी र यार्सागुम्बाको प्राकृतिक प्रजनन क्षमता घट्दै जानुले उत्पादनमा गिरावट आएको हो । उत्पादन घटे पनि संकलकको जोखिम भने उस्तै छ । कठिन भूगोल, हिमपात र भीरपाखाका कारण बर्सेनि दुर्घटना हुने गरेका छन् । साथै, बन्दुक बोकेका लुटेरा समूह पाटन क्षेत्रमा सक्रिय हुने गरेको संकलकहरूले बताएका छन् ।
यार्सागुम्बा मात्रै होइन, कटुको, पाँचऔँले, समयो, घुच्ची च्याउ, पदमचाललगायत जडीबुटी संकलनमा पनि कर्णालीका हजारौँ परिवार निर्भर छन् । तर यस वर्ष सबै जडीबुटीको उत्पादन घटेको छ । स्थानीय सरकारका बजेट र योजनामा रोजगारी सिर्जनाका कार्यक्रम उल्लेख भए पनि कार्यान्वयन प्रभावकारी नभएको स्थानीयको गुनासो छ । ‘हामीले गाउँमा सिंहदरबार आयो भन्ने सुनेका हौँ, तर रोजगारी आएन,’ उनीहरू भन्छन्, ‘कहिले आउला त्यो दिन, जब आफ्नै गाउँमा पसिना बगाएर परिवार पाल्न पाइयोस् ?’
