मुख्य सामग्रीमा जानुहोस्

बाँदर तथा वन्यजन्तु क्षति न्यूनीकरणका लागि मन्त्री चौधरीलाई अन्तरिम प्रतिवेदन

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन समितिले मन्त्री गिता चौधरीलाई अन्तरिम प्रतिवेदन बुझाएको छ। मन्त्रीले यसलाई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोडिएको राष्ट्रिय मुद्दा बताउँदै दीर्घकालीन समाधान खोज्न प्रतिबद्धता…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

७ साउन, काठमाडौं। मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि गठित टास्क फोर्सले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई अन्तरिम प्रतिवेदन पेस गरेको छ। समितिले सोमबार मन्त्रालयमा पुगेर उक्त प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा बाँदरसहित अन्य वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणालीमा सुधार, जनचेतना अभिवृद्धि र दीर्घकालीन व्यवस्थापनका विभिन्न सुझाव समेटिएका छन्। टास्क फोर्सले विशेष गरी बाँदरको समस्यालाई केन्द्रित गर्दै ती सुझावहरू मन्त्रीसमक्ष राखेको थियो।

प्रतिवेदन बुझेपछि मन्त्री चौधरीले यस विषयलाई गम्भीरतापूर्वक अध्ययन गरेर आवश्यक नीतिगत निर्णय र कानुनी सुधार गर्ने बताइन्। उनले भनिन्, “बाँदरका कारण देशका विभिन्न जिल्लामा किसानले ठूलो समस्या भोगिरहेका छन्। बाली नष्ट हुने, किसान विस्थापित हुने र कृषि उत्पादनमा प्रत्यक्ष असर परेको छ। यसलाई वन्यजन्तु संरक्षणको दृष्टिले मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोडेर राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्छ।”

मन्त्री चौधरीले टास्क फोर्सलाई वैज्ञानिक, कानुनी र व्यावहारिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न निर्देशन दिएकी छन्। साथै, प्रभावित क्षेत्रको अवस्था अध्ययन गरी स्थानीय तह, सरोकारवाला निकाय, विज्ञ र समुदायसँग समन्वय गरेर समाधान अघि बढाउनुपर्नेमा जोड दिइन्।