नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेरीमा विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ स्वीकृत गरेको हो।
दुर्घटनामा परी बालकले सोही गाउँपालिकाको आमा समूहको भवनको छतमा खेलिरहेका बेला नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छोएपछि करेन्ट लागेको थियो। प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम १ बमोजिम उक्त रकम वितरण केन्द्रमार्फत पीडित परिवारलाई उपलब्ध गराउने जनाएको छ।
मन्त्री श्रेष्ठको निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजीरहरूका आधारमा पीडित बालकको परिवारलाई सहयोग गरिएको बताए। उनले जतिसुकै ठूलो रकम भए पनि मानिसको जीवनभन्दा कम हुने उल्लेख गर्दै उक्त रकमले जीवनयापनमा थोरै सहयोग पुग्ने अपेक्षा गरिएको बताए।
मन्त्री श्रेष्ठले विद्युतीय दुर्घटनाको बढ्दो सङ्ख्या चिन्ताजनक रहेको भन्दै प्राधिकरणलाई आफ्ना संरचनाको मर्मत, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने र सुरक्षा सतर्कता अभिवृद्धि गर्न निर्देशन दिए। साथै नागरिकलाई जनचेतना तथा पूर्वसूचनाका कार्यलाई तीव्रता दिन पनि उनले निर्देशन दिए।
प्राधिकरणले विनियमावली अनुसार क्षतिपूर्ति रकमको आकार अनुसार निर्णय गर्ने व्यवस्था रहेको जनाएको छ। दुई लाख रुपैयाँसम्म विभागीय प्रमुख, दुई देखि पाँच लाखसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, पाँच देखि १० लाखसम्म मुख्य प्रशासकीय अधिकृत र १० लाखभन्दा बढीको रकम सञ्चालक समितिले निर्णय गर्नुपर्ने प्रावधान छ।
