प्रधानमन्त्री बालेन शाहले आफ्ना मुख्य सल्लाहकार कुमार बेनलाई केही दिनअघि नयाँ दिल्ली पठाएको विषय चर्चामा छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई बेनले भेटेको भनिए पनि यो भेट नेपालको कुनै औपचारिक रेकर्डमा देखिँदैन। सरकारका एक उच्च अधिकारीले बेन र डोभलबीचको भेटलाई व्यक्तिगत रूपमा पुष्टि गरेका छन्। ती अधिकारीका अनुसार बेनको भारत भ्रमणबारे रास्वपा सभापति रवि लामिछानेलाई जानकारी थियो।
जेठको तेस्रो साता रास्वपा सभापति लामिछानेलाई सत्तारुढ भारतीय जनता पार्टीले अविस्मरणीय स्वागत गरेको थियो। भारतीय प्रधानमन्त्री मोदीले देखाएको मान–सम्मानपछि बालेन टिम झस्किएको बताइन्छ। त्यो निम्तो सुरुमा प्रधानमन्त्री बालेनलाई नै थियो, तर उनले विभिन्न कारण देखाएर पन्छाइदिएका थिए।
रविको चीन भ्रमणको तयारी
रास्वपा सभापति लामिछाने अगस्टको दोस्रो साता चीन जाँदैछन्। उनले त्यहाँ उच्च तहका चिनियाँ सरकारी प्रतिनिधि तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेट्ने कार्यक्रम छ। थप समन्वय भए राष्ट्रपति सी चिनफिङसँग भेट हुने बताइएको छ। तर यस भ्रमणमा सरकारी प्रतिनिधि सहभागी हुने छैनन्। हालसम्म भ्रमण टोलीमा पार्टीका चार जना नेता मात्र रहने भनिएको छ।
गत वर्ष जेठमा पूर्वराष्ट्रपति विद्या भण्डारी चीन जाँदा तत्कालीन सरकारका उद्योगमन्त्री दामोदर भण्डारी उनीहरूको टोलीमा सामेल थिए। त्यस्तै, यसअघि पनि उच्च तहको अनौपचारिक भ्रमणमा सरकारकै प्रतिनिधि रहने परम्परा छ। तर यसपटक न त प्रधानमन्त्री पक्षले त्यो परम्परालाई ध्यान दिएको छ, न त रवि पक्षले नै सरकारी प्रतिनिधि सामेल गराएको छ।
समन्वयको अभाव
यसअघि पासपोर्ट छपाई विवादमा पनि प्रधानमन्त्रीका सल्लाहकार र परराष्ट्रमन्त्री शिशिर खनालबीच मतभिन्नता देखिएको थियो। वैशाखमा अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जियो गोर काठमाडौं आउँदा प्रधानमन्त्री बालेनले व्यस्तता देखाउँदै भेट्न अस्वीकार गरेका थिए। त्यसपछि रुष्ट विशेष दूतले नयाँ दिल्लीमा रास्वपा सभापति लामिछानेलाई भेटेका थिए।
अन्तर्राष्ट्रिय वृत्तमा दुवै नेता कूटनीतिक मुद्दामा एकै ठाउँमा नरहेको बुझाइ प्रवाहित भइरहेको छ। पार्टीले गरेको कुरा सरकारलाई थाहा हुँदैन, सरकारले गरेको कुरा पार्टीलाई थाहा हुँदैन। यसले नेपालको विदेश नीति र मर्यादामा प्रश्न उठाएको छ।
