मुख्य सामग्रीमा जानुहोस्

सालका पातबाट दुनाटपरी बनाउँदै तानसेनका सात महिला, मासिक ३० हजारसम्म आम्दानी

वनमा खेर जाने सालका पातलाई कच्चा पदार्थ बनाएर तानसेनका सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन्। चार लाख रुपैयाँ लगानीको यो उद्यमबाट मासिक २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
सालका पातबाट दुनाटपरी बनाउँदै तानसेनका सात महिला, मासिक ३० हजारसम्म आम्दानी
Nagariknetwork

वनमा खेर जाने सालका पातलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्दै तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उत्पादनको व्यावसायिक उद्यम सञ्चालन गरेका छन्। परम्परागत सीपलाई व्यवसायमा परिणत गरेपछि उनीहरूलाई रोजगारी र आम्दानी दुवैको अवसर जुटेको छ।

‘दिदीबहिनी कुटिर उद्योग’ का नाममा सञ्चालित यो उद्यम चार लाख रुपैयाँको लगानीमा खुलेको छ। उद्योगकी अध्यक्ष कल्पना पौडेलका अनुसार यहाँ दैनिक एक हजार दुनाटपरी उत्पादन हुन्छ भने मासिक २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ।

गाउँघरमा महिला भेला भई सालका पातबाट दुनाटपरी बुन्ने परम्परालाई आधुनिक प्रविधिसँग जोडिएको पौडेल बताउँछिन्। मेसिनको सहायताले तयार पारिएका दुनाटपरी हातले बनाइएकाभन्दा बलियो र आकर्षक हुने उनको भनाइ छ। यसले भोजभतेरमा प्रयोग हुने प्लास्टिकका प्लेटको विकल्पसमेत उपलब्ध गराएको छ।

मूल्य र बजार

उद्योगले उत्पादन गरेको सानो दुनाको खुद्रा मूल्य प्रतिगोटा दुई रुपैयाँ छ भने थोकमा सयवटाको १९० रुपैयाँमा बिक्री हुन्छ। चारकुने टपरी खुद्रामा प्रतिगोटा सात रुपैयाँ र थोकमा छ रुपैयाँमा पाइन्छ। यस्तै लाफा खुद्रामा १३ रुपैयाँ र थोकमा ११ रुपैयाँमा बिक्री हुने सञ्चालक मञ्जु रेग्मी बताउँछिन्।

उत्पादनको माग स्थानीय बजारमा मात्रै सीमित छैन। बाहिरी जिल्लाबाट पनि अर्डर आउने गरेको रेग्मीको भनाइ छ। बजारका चाट पसल तथा पूजासामग्री पसलसँग सम्पर्क गरेर उत्पादन बिक्री गरिँदै आएको छ। सुरुवाती चरणमै धेरैले उत्पादन रुचाएको र गाउँगाउँबाट सालका पात संकलन गरेर ल्याउने गरेको उनी बताउँछिन्। बर्खामा पात पाउन गाह्रो हुने भएकाले अहिल्यै संकलन गरेर गोदाममा राखिएको छ। समूहमा काम गर्दा सीप आदानप्रदान हुनुका साथै आम्दानीको अवसर पनि बढेको छ, र पहिले हातले टपरी बुन्न सिकेका महिला अहिले मेसिनको सहायताले आफैँ दुनाटपरी उत्पादन गर्न सक्षम भएका छन्।

जनशक्ति र मेसिनको अभाव

बजारमा माग बढ्दै गए पनि कच्चा पदार्थ र मेसिनको अभावले मागअनुसार उत्पादन गर्न कठिन भइरहेको उद्यमीहरू बताउँछन्। वन क्षेत्रमा सालका रूख प्रशस्त भए पनि पात संकलन गर्ने जनशक्ति अभाव हुँदा उत्पादन प्रभावित हुने गरेको छ। पात संकलन गरेर मात्रै पनि दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म कमाउन सकिने पौडेल बताउँछिन्। लाफा बनाउने र टपरी उत्पादन गर्ने कामबाट पनि राम्रै आम्दानी भइरहेको छ।

उद्योगकी सचिव कल्पना पोखरेल खनालका अनुसार वडा कार्यालयबाट एउटा मेसिन सहयोग भएको छ, तर बजारको माग धान्न थप सहयोग आवश्यक छ। स्थानीय सरकारले थप मेसिन उपलब्ध गराउने र कच्चा पदार्थ व्यवस्थापनमा सघाउने हो भने उद्योग विस्तार गर्न सजिलो हुने उनको भनाइ छ। घरमै बसेर दिन कटाउने महिला अहिले समूहमा काम गर्दै आम्दानी जोड्न थालेको र एक जनाले मासिक पाँच हजार रुपैयाँसम्म कमाउने गरेको खनाल बताउँछिन्।

विवाह, व्रतबन्ध, पूजापाठ, धार्मिक अनुष्ठान तथा भोजभतेरमा दुनाटपरीको प्रयोग हुँदै आएको छ। यस उद्यमले परम्परागत सीप र संस्कृतिको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी र आम्दानीको अवसर सिर्जना गरेको छ। प्लास्टिकका भाँडाको प्रयोग घटाउन तथा वातावरणमैत्री सामग्रीको प्रवर्द्धन गर्न स्थानीय सरकारले पनि भूमिका खेल्नुपर्ने खनालको सुझाव छ।

रासस