मुख्य सामग्रीमा जानुहोस्

अपेक्षित नतिजा आएन, तर युवाको आवाज उठाउने संकल्प यथावत् छ : सौगात थापा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा खुला क्लस्टरबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएका सौगात थापाले निर्वाचनमा अपेक्षित नतिजा हात नपरे पनि युवाको पक्षमा आवाज उठाउने अठोट कायम रहेको जनाएका छन्। उनले आफूलाई मत दिने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
अपेक्षित नतिजा आएन, तर युवाको आवाज उठाउने संकल्प यथावत् छ : सौगात थापा
Nagariknetwork

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवा खुला क्लस्टरबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएका सौगात थापाले निर्वाचनमा अपेक्षित नतिजा हात नपरे पनि युवाको आवाज बुलन्द गर्ने आफ्नो संकल्प कमजोर नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधिहरू तथा समर्थन र हौसला दिने सबैप्रति आभार प्रकट गरेका छन्। महाधिवेशन प्रतिनिधिले देखाएको विश्वास आफ्नो लागि मतसङ्ख्याभन्दा ठूलो राजनीतिक पुँजी भएको उनको भनाइ छ।

परिणामलाई हारका रूपमा मात्रै नलिई आफ्नो राजनीतिक यात्रालाई अझ परिपक्व र सशक्त बनाउने अवसरका रूपमा लिएको थापाले उल्लेख गरेका छन्। राजनीतिमा एक निर्वाचन अन्तिम गन्तव्य नभई यात्राको एउटा मोड मात्र हुने उनको भनाइ छ। ‘आजको परिणामले केही पछाडि पारे पनि मेरो सपना, संकल्प र यात्रा रोकिने छैन,’ उनले भनेका छन्, ‘समयले फेरि अवसर दिनेछ र म आफूलाई अझ योग्य बनाउँदै जनताको विश्वास तथा पार्टीको जिम्मेवारीका लागि निरन्तर क्रियाशील रहनेछु।’

निर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै थापाले उनीहरूको सफलतासँग पार्टीको र नयाँ पुस्ताको भविष्य जोडिएको उल्लेख गरेका छन्। निर्वाचनबाट प्राप्त अनुभवलाई आगामी राजनीतिक यात्राको आधार बनाउने उनको भनाइ छ।

महाधिवेशनमा उनले २ हजार १२ मत प्राप्त गरेका थिए। उनी कास्की २ नम्बर क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बनेका थिए।