महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको दुबो पुनःरोपण तथा संरक्षणका लागि नेपाली कांग्रेसले माउन्ट एभरेस्ट इभेन्ट्ससँग सम्झौता गरेको छ। क्षति पुगेका स्थानमा नयाँ दुबो रोप्ने, स्याहार गर्ने र हुर्काउने विषयमा दुई पक्षबीच सहमति भएको हो।
सम्झौताअनुसार क्षतिग्रस्त ठाउँमा नयाँ दुबो रोपिने र त्यसको उचित हेरचाह तथा संरक्षणको काम अघि बढाइनेछ। यो कामका लागि लाग्ने सम्पूर्ण खर्च भने कांग्रेसले व्यहोर्ने सहमति भएको छ। सम्झौताको अवधि डेढ महिना तोकिएको छ।
सम्झौतापत्रमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा कांग्रेसका नेता विश्वप्रकाश शर्मा, काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कांग्रेसको १५औं महाधिवेशन १८ देखि २३ असोजसम्म सञ्चालन भएको थियो। उक्त अवधिमा खुलामञ्च परिसरमा राखिएका संरचना तथा भीडभाडका कारण जमिनको दुबोमा क्षति पुगेको थियो।







