नेपाली कांग्रेसको आधिकारिकता विवादमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको कार्यसमितिलाई आधिकारिकता दिएको आदेशउपर यो निवेदन परेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार देउवा पक्षले अदालतको अन्तिम आदेश उपर पुनरावलोकन निवेदन दर्ता गराएको हो । न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई मान्यता दिएको थियो ।
यसअघि तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै सर्वोच्च अदालत गएका थिए । अदालतले गगन थापा पक्षलाई आधिकारिकता दिएपछि देउवा पक्षले पुनरावलोकन निवेदन दिएको हो ।
