मुख्य सामग्रीमा जानुहोस्

तीन महिनामा देशभरबाट सात हजारभन्दा बढी फरार प्रतिवादी पक्राउ

नेपाल प्रहरीले गत तीन महिनामा देशभरबाट विभिन्न मुद्दाका ७२५१ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट २९३६ वर्ष चार महिना २५ दिन कैद सजाय र ७२ करोड ४७ लाख १२ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा नेपाल प्रहरीले देशभरबाट फरार अभियुक्तहरूविरुद्ध विशेष अभियान चलाएको थियो। सो अभियानमा विभिन्न मुद्दाका ७२५१ प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए।

पक्राउ पर्नेमध्ये सबैभन्दा धेरै मधेस प्रदेशबाट दुई हजार ११७ जना छन्। यसैगरी, काठमाडौं उपत्यका प्रहरी कार्यालयले एक हजार २३२, कोशी प्रदेशले ९६०, लुम्बिनीले एक हजार १८१, बागमतीले ७६०, गण्डकीले ४५२, सुदूरपश्चिमले ३१४, कर्णालीले १८७ र केन्द्रीय अनुसन्धान ब्युरोले ४८ जना पक्राउ गरेको छ।

पक्राउ परेका प्रतिवादीहरूमाथि तोकिएको दुई हजार ९३६ वर्ष चार महिना २५ दिनको कैद सजाय कार्यान्वयनमा ल्याइएको छ। साथै उनीहरूबाट ७२ करोड ४७ लाख १२ हजार रुपैयाँ जरिवाना पनि असुल गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता काफ्लेले फैसला कार्यान्वयन र फरार अभियुक्त पक्राउ कार्यलाई उच्च प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको जानकारी दिए। कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर तथा ठगीलगायतका मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीलाई विशेष रूपमा खोजी गरी पक्राउ गरिएको उनले बताए।