सिरहाको लहानमा प्रहरीले गोली चलाएर ६ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले लहानस्थित अस्पताल चोकमा शनिबार कारबाही गरेको हो। प्रतिबन्धित लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ।
घाइतेको अवस्था
प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा सप्तरी रुपनी गाउँपालिका वडा नं. १ का ४० वर्षीय मो. नसिर र भारत बिहारका २२ वर्षीय विद्यानन्द यादव रहेका छन्। उनीहरूको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। शङ्कास्पद अवस्थामा रहेका ६ जनालाई रोकी जाँच गर्दा उनीहरू भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जनाइएको छ।
पक्राउ र बरामद
सोही क्रममा सप्तरी बोदे बसाईन गाउँपालिका वडा नं. २ का २८ वर्षीय शम्भु प्रसाद यादव, सप्तरी डाक्नेश्वरी गाउँपालिका २ का २८ वर्षीय मो. जमाहिर आलम, सोही स्थानका २४ वर्षीय वैधनाथ प्रसाद यादव र ३२ वर्षीय मो. इमामुदिनलाई पनि पक्राउ गरिएको छ। प्रहरीले उनीहरूको साथबाट २४३ ग्राम खैरो हिरोइन, दुई मोटरसाइकल र ७ थान मोबाइल बरामद गरेको छ। पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ।
