मुख्य सामग्रीमा जानुहोस्

नाटकीय रूपमा स्थापित भएकाहरूको पतन पनि त्यसैगरी हुन्छ : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ शक्तिहरू नाटकीय रूपमा उदाए पनि तिनको पतन पनि त्यसैगरी हुने बताएका छन्। उनले नयाँ शक्तिको असफलतापछि जनतालाई मूलधारका दलमा आकर्षित गर्नु चुनौती रहेको उल्लेख गरे।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गरेका छन्। नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खडा भएको आरोप लगाए। उनले भने, 'आज बालेन्द्र सरकार पपुलिजम, एनार्किजम र अपर्चुनिजमको जगमा जसरी खडा भएको छ, यो लामो समयसम्म चुनौती रहन्छ भन्ने म ठान्दिनँ।'

पोखरेलले नयाँ शक्तिको पतन निश्चित भए पनि त्यसपछि जनमत स्वतः पुरानै दलतिर फर्किनेमा विश्वस्त हुन नसकिने तर्क गरे। 'उनीहरू जसरी नाटकीय रूपमा नेपालको राजनीतिमा स्थापित भएका छन्, उनीहरूको पतन पनि त्यसैगरी हुन्छ,' उनले भने।

उनले नयाँ शक्तिको असफलतापछिको रिक्ततामा जनतालाई पुनः मूलधारका राजनीतिक दलहरूमा आकर्षित गर्नु मुख्य चुनौती रहेको बताए। पार्टीको आन्तरिक अवस्थाप्रति समीक्षा गर्दै महासचिव पोखरेलले युवा पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गरे। 'हामी हाम्रा हरेक कार्यक्रमहरूमा अनुहार हेर्दा पाका अनुहार नै बढी देख्छौं,' उनले भने।