भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल 'एक्स' मार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा पठाएको जानकारी दिए पनि अझै स्वीकृत भएको छैन। यो कदम नीट प्रश्नपत्र चुहावटको विरोधमा देशभर भइरहेको प्रदर्शन र विशेषगरी कक्रोच जनता पार्टी (सीजेपी) को जन्तर-मन्तरमा भएको आन्दोलनका बीच आएको हो।
धर्मेन्द्र प्रधानले आफ्नो राजीनामाको कारण देशमा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रविरोधी शक्तिहरूले फाइदा नउठाऊन्, विद्यार्थीहरूको भविष्य कानुनी उल्झनमा नपरोस् भन्ने चिन्ता देखाएका छन्। उनले भनेका छन्, 'म देशका युवाहरूको आकाङ्क्षा र न्यायोचित अपेक्षाको गहिरो सम्मान गर्छु।' उनले आफूलाई विगत चार दशकभन्दा बढी समयदेखि शिक्षा सुधारमा समर्पित बताउँदै विद्यार्थीहरूको पक्षमा आफूले नैतिक सङ्कल्प लिएको उल्लेख गरेका छन्।
कक्रोच जनता पार्टीको प्रतिक्रिया
कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले राजीनामा आएपछि जन्तर-मन्तरमा खुसीयाली मनाए। उनले भने, 'हामीले गरेर देखायौँ। धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। यो प्रमाण हो कि यदि तपाईं डराउनुहुन्न र सरकारसामु झुक्नुहुन्न भने जोसुकैलाई पनि राजीनामा दिन बाध्य पार्न सक्नुहुन्छ।' तर दीपकेले राजीनामा मात्र आन्दोलनको अन्त्य नभएको बताउँदै थप दुई माग राखेका छन्: आत्महत्या गरेका विद्यार्थीका परिवारलाई एक करोड क्षतिपूर्ति र प्रहरीहरूमाथि कारबाही। उनले चेतावनी दिए, 'कक्रोच एकपटक छिरेपछि निस्किँदैन।'
जन्तर-मन्तरमा सीजेपीले जुन २० देखि नै प्रदर्शन गरिरहेको थियो। शुक्रबार सरकारसँगको वार्ता असफल भएपछि शनिबार तेस्रो चरणको वार्ता हुनुअघि नै मन्त्रीले राजीनामा दिएको हो। दीपकेले यसलाई लोकतन्त्रको जीत बताए।
विपक्षी दल र आरएसएसको भूमिका
शिक्षामन्त्रीको राजीनामाको माग कांग्रेसलगायत विपक्षी दलहरूले पनि गरिरहेका थिए। कांग्रेस सांसद राहुल गान्धीले शनिबार प्रधानमन्त्री मोदीमाथि कटाक्ष गर्दै भनेका थिए कि उनले मेट्रो, पसल, इन्टरनेट, बाटो र खाना बन्द गर्न सके तर प्रश्नपत्र चुहावट बन्द गर्न सकेनन्। सरकारले विद्यार्थीहरूविरुद्ध क्रुर कदम चालेको भन्दै उनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका थिए।
यसैबीच, आरएसएस प्रमुख मोहन भागवतले शनिबार बिहान एउटा कार्यक्रममा भने, 'हामी मनोमानी गर्छौं, शक्तिको भरमा सबैको मालिक बन्छौं भन्न पाइँदैन।' उनले नयाँ पुस्तासँग संवाद र तर्कको आवश्यकता औंल्याए। भागवतको यो बयान आएको करिब चार घण्टापछि नै धर्मेन्द्र प्रधानको राजीनामा आएको थियो।
सुधारका लागि सरकारका कदम
शुक्रबार राति नै नेसनल टेस्टिङ एजेन्सी (एनटीए) का ४७ अधिकारीहरूलाई बर्खास्त गरिएको थियो। उनीहरूविरुद्ध फौजदारी मुद्दा पनि दर्ता गरिने बताइएको छ। अधिकारीहरूका अनुसार एनटीएमा सुधारका लागि आउटसोर्सिङ व्यवस्थामा परिवर्तन गरी प्राविधिक सुधार लागू गरिनेछ। एनटीएले चार जना वरिष्ठ जनरल म्यानेजर र १६ जना युवा पेशेवर नियुक्त गर्ने योजना बनाएको छ। यसअघि बिहीबार सरकारले शिक्षा मन्त्रालयका दुई सचिवलाई हेरफेर गरेको थियो।
जन्तर-मन्तरको आन्दोलनमा लद्दाखका शिक्षाविद् सोनम वाङचुक पनि अनशन बसेका थिए भने चलचित्र, शिक्षा, कला र खेलकुदका धेरै व्यक्तिहरूले समर्थन जनाएका थिए। शनिबार दिल्लीका १८ मेट्रो स्टेसन बन्द गरिएको थियो भने इन्टरनेट अवरुद्ध भएको दाबी गरिएको थियो।
