१२ साउन, काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरीमा भएको घटनाको शान्तिपूर्ण संवाद र सहमतिबाट समाधान खोज्न सबै पक्षलाई अपिल गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले लोकतन्त्रमा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवादबाट मात्र सम्भव हुने उल्लेख गरेको छ।
बैठकपछि जारी संयुक्त वक्तव्यमा दलहरूले पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
वक्तव्यमा सबै पक्षलाई संयमता अपनाई आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरिएको छ। आवेगले समस्या समाधान नभइ थप जटिलता सिर्जना हुने भन्दै दलहरूले सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा तत्काल सर्वदलीय र सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न निर्देशन दिएका छन्।
स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज र प्रशासनसँग समन्वय गरेर शान्ति कायम राख्न सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइएको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन केन्द्रीय तहले आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
बैठकले सरकारलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन गम्भीर ध्यानाकर्षण गराएको छ। सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने भन्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न आग्रह गरिएको छ।
वक्तव्यमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सहभागी सबै राजनीतिक दल एकताबद्ध रहेको उल्लेख गर्दै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
