सुनसरीको देवानगञ्ज गाउँपालिका-४ कप्तानगञ्जमा साउन ११ गते प्रशासनको गोलीबाट दुई युवाको ज्यान गएपछि सुरु भएको आक्रोशको लहर करिब १२५ किलोमिटर पार गर्दै सिरहाको गोलबजारसम्म पुगेको छ। यस क्रममा थुप्रै घर र पसलमा आगजनी हुँदा सर्वसाधारणको रोजीरोटी खरानी भएको छ।
साउन ११ गते कप्तानगञ्जमा ओमप्रकाश मेहता र जयप्रकाश मेहता नामका दुई युवक प्रशासनको गोली लागेर मारिएका थिए। घटनापछि आक्रोशित स्थानीयले दुई दिनसम्म शव उठाउन दिएनन्। गत बिहीबार गृहमन्त्रीसँग सहमति भएपछि मात्र गोली लागेकै ठाउँमा शवको सदगत गरियो। उनीहरूको सम्झनामा चोकमा तस्बिर टाँसिएको छ भने शोकमा बजारका सटर बन्द छन्।
कप्तानगञ्जको सन्नाटा
घरनजिकैको बजारमा किराना पसल चलाउँदै आएका ६१ वर्षीय ओमप्रसाद मेहताको दैनिकी पनि ठप्प छ। उनको पसलमा नुन, तेल, दाल, चामलसहित दैनिक उपभोग्य सबै सामान पाइन्थ्यो। हिन्दु र मुस्लिम दुवै समुदायका मानिस उनका ग्राहक थिए। उनी अब बिस्तारै पसल खोल्न पाए हुन्थ्यो भन्ने चाहनामा छन्। ‘रहर त छ नि, तर राज्यले हामीहरूको घाउ पुरिदेओस्,’ उनले भने। उनैका परिवारका २२ वर्षीय अंकित मेहताले भने, ‘हो, अब जे हुनु भइहाल्यो।’
कप्तानगञ्जको यो घटनाले सिङ्गो देश दुई समूहमा बाँडिएजस्तो भएको स्थानीय सुनितादेवी मेहताको भनाइ छ। उनका अनुसार सुरुमै जान्नेसुन्नेहरूले पहल गरेको भए पीडा यति टाढासम्म फैलिने थिएन। देवानगञ्ज गाउँभरिका किसानका घरमा पुगेर खसीबाख्रा किन्ने र बिराटनगर पुर्याएर बेच्ने जाबिर आलाम पनि अब काम नपाए भोकभोकै मर्ने अवस्था आएको बताउँछन्।
कोशीकटानदेखि गोलबजारसम्म
कप्तानगञ्जको घटनापछि आगोको लप्का सुनसरीकै कोशी गाउँपालिकास्थित कोशीकटान हुँदै सिरहाको गोलबजारसम्म फैलियो। कोशीकटानका सरजुग कुमार गोइतको आठ वर्षदेखि सञ्चालनमा रहेको पसल पनि आगोमा खरानी भयो। कप्तानगञ्जको घटनासँग उनको कुनै साइनो थिएन। उनका अनुसार करिब १०२ जना युवाले ‘यो हिन्दुको पसल हो, बाँकी राख्न हुँदैन’ भन्दै आगो लगाएका थिए। ‘भोलिपल्ट फर्किंदा पसल बाँकी नै थिएन,’ उनले भने।
सो आगलागीमा गोइतको करिब ३ करोड रुपैयाँको क्षति भएको छ। प्रशासनले घटनाको मुचुल्का उठाए पनि आजैदेखि रोजीरोटी गुमेको उनको पीडा छ। उनका तीन साना छोराछोरी र श्रीमतीको गुजारा सोही पसलको भरमा थियो। आगो लगाउनेहरू अहिलेसम्म पक्राउ नपरेकोमा उनी चिन्तित छन्। ‘हाम्रो गाउँमा हिन्दु पनि छन्, मुस्लिम पनि छन्। हामी कहिल्यै अलग-अलग भएर हुर्किएनौं,’ उनले भने, ‘हिजोसम्म विश्वास गरेका छरछिमेकीलाई आज शंकाले हेर्नुपरेको छ।’
गोलबजारमा झन् भयावह
साउन १४ गते घटना झन् उग्र बन्दै गयो। सिरहाको गोलबजारमा रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस अगाडि प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भयो। यसपछि आक्रोशित भिडले मुस्लिम समुदायका पसलहरू खोजिखोजी जलाए, पार्किङमा राखिएका गाडी र मोटरसाइकलमा समेत आगजनी गरियो।
गोलबजारकै साबिर खानको आइरन स्टोर्स पनि सोही दिन आगोको सिकार भयो। पुर्ख्यौली जग्गा बेचेर र ऋण गरेर करिब २० वर्षअघि सुरु गरेको पसल एकै घण्टामा नष्ट भएको उनी बताउँछन्। यो पसल उनको जीविकोपार्जनको आधार मात्र नभएर स्थानीयका लागि रोजगारीको माध्यम समेत थियो। आगलागी भएको चार दिनपछि पनि पसलबाट धुवाँ पुत्ताइरहेको थियो। घटनामा प्रशासनले दमकल नपठाएको उनको गुनासो छ।
उनलाई सान्त्वना दिन पुगेका अधिकांश साथी हिन्दु नै थिए। आगो लगाउनेहरू को थिए भन्ने उनलाई थाहा छैन। ‘यो न हिन्दुको घर हो, न मुसलमानको, इन्सानको घर हो। कसले साजिस रच्यो ?’ साबिरले भने।
राज्यको तदारुकतामाथि प्रश्न
कप्तानगञ्जको घटना साउन ११ बिहानसम्म डढेलोजस्तै फैलिसकेको थियो। तर तीनै तहका सरकारले सुरुमै संवेदनशीलता बुझेर पहल नगर्दा घृणाको आगो झन् फैलिएको प्रभावितहरूको भनाइ छ। किन, कसले र कसरी यो अराजकताको आगो झोस्यो भन्ने प्रश्न पनि उत्तिकै जीवित छ।
प्रभावित क्षेत्रका सर्वसाधारणले अब आफ्नो दैनिकी सहज हुनुपर्ने र आगोले सखाप पारेको जीविकोपार्जनतर्फ राज्यले ध्यान दिनुपर्ने अपेक्षा राखेका छन्।
