मुख्य सामग्रीमा जानुहोस्

पोर्चुगलमा नेपाली सन्तान सिक्दै आफ्नै भाषा र संस्कृति

पोर्चुगलमा बस्ने नेपाली परिवारका बालबालिकाले आफ्नो भाषा र संस्कृतिसँगको सम्बन्ध जोगाउन सप्ताहान्त विद्यालयको सहारा लिइरहेका छन्। परिवारका ज्येष्ठ सदस्यसँग नेपालीमै कुराकानी गर्न नसक्ने बालबालिका यी कक्षापछि भाषामा सुधार…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

पोर्चुगलमा बस्ने नेपाली परिवारका बालबालिकाले आफ्नो भाषा र संस्कृतिसँगको सम्बन्ध कायम राख्न सप्ताहान्त विद्यालयको सहारा लिइरहेका छन्। लिस्बनस्थित प्रिसियस रिजन एसोसिएसनले सन् २०२४ यता तीन सयभन्दा बढी बालबालिकालाई निःशुल्क नेपाली भाषा र संस्कृति सिकाइरहेको छ। अधिकांश सहभागी पोर्चुगलमै जन्मिएका वा सानै उमेरमा त्यहाँ पुगेका नेपाली सन्तान हुन्।

दशक लामो समयदेखि पोर्चुगलमा बसोबास गर्दै आएका चितवनका सौगत अधिकारी र उनकी श्रीमती गोमा पुडासैनीको परिवार पनि यसबाट जोडिएको छ। उनीहरूकी पाँच वर्षीया छोरी सुयना पोर्चुगलमै जन्मेकी हुन्। गत वर्ष नातिनीसँग भेटाउन र पोर्चुगल घुमाउन बुबाआमालाई नेपालबाट बोलाइएको थियो। तर बुबाआमा आएपछि घरमा भाषागत समस्या देखियो। केही नेपाली शब्द मिसिएको पोर्चुगिज बोल्ने सुयनाको कुरा हजुरबुबा–हजुरआमाले बुझ्न सकेनन्।

खान मन लागेको, शौचालय जानुपर्ने वा सामान चाहिएको जस्ता दैनिक कुरा पनि छोरीले नेपालीमा भन्न नसकेको सौगत बताउँछन्। बुबाआमा घरमै हुँदा पनि भाषाकै कारण छोरीलाई उनीहरूकहाँ छाडेर बाहिर जान नसकेको उनको भनाइ छ। यही घटनापछि छोरीलाई नेपाली भाषा सिकाउने विद्यालय खोज्न थालेको सौगतले सुनाए।

सप्ताहान्त विद्यालयको सुरुवात

३९ वर्षीय आनन्द थापा १६ वर्षदेखि पोर्चुगलको बसोबासमा छन्। आप्रवासीलाई पोर्चुगिज भाषा र संस्कृतिमा घुलमिल गराउने उद्देश्यले सन् २०२३ को अन्त्यतिर उनले प्रिसियस रिजन एसोसिएसन स्थापना गरे। सन् २०२४ मा लिस्बनको ओलायसमा कार्यालय खोलेर नेपाली तथा भारतीय नागरिकलाई पोर्चुगिज भाषा र संस्कृतिसँग जोड्ने काम थालियो। पोर्चुगलमै जन्मिएका नेपाली बालबालिकाले आफ्नो भाषा र संस्कृति कसरी सिक्लान् भन्ने प्रश्न उठेपछि सोही कार्यालयमा विकेन्ड स्कुल सुरु गरिएको थापा बताउँछन्।

हरेक शनिबार र आइतबार बालबालिकालाई निःशुल्क नेपाली भाषा र संस्कृतिको कक्षा दिइन्छ। कार्यक्रम सुरु भएको करिब एक वर्षपछि सौगत पनि छोरी सुयनालाई लिएर त्यहाँ आइपुगे। एक महिनाको कक्षापछि नै छोरीको नेपाली भाषामा उल्लेख्य सुधार आएको र अहिले नेपालका बुबाआमासँग नेपालीमै कुरा गर्न थालेको सौगत सुनाउँछन्। घरमा प्रयास गरे पनि विद्यालय गएपछि नै भाषाको जग बसेको उनको भनाइ छ।

पर्वतकी सुजना घिमिरेका छोरा पनि यही सप्ताहान्त विद्यालयमा नेपाली सिक्दै छन्। कामका कारण बच्चासँग बिताउने समय निकै कम हुने गरेको घिमिरे बताउँछिन्। चाहेर पनि नेपाली सिकाउन नसकेको उनको भनाइ छ। तीन महिनामा १२ कक्षा पूरा गरेपछि छोराले सामान्य नेपाली बुझ्न थालेको उनी सुनाउँछिन्।

नेपालमै जन्मेर पोर्चुगल पुगेका बालबालिकाले पनि भाषा बिर्सने समस्या झेलिरहेका छन्। आठ वर्षको छोरालाई पोर्चुगल ल्याएका ललितपुरका विक्रम महर्जनका अनुसार चार वर्षमै छोराले नेपालीका अधिकांश शब्द र अभिव्यक्त गर्ने शैली बिर्सिएका छन्। घरबाहिर नेपाली बोल्ने अवसर नपाउँदा नेपालमै सिकेको भाषा पनि बिर्सिएको महर्जनको भनाइ छ। छोराले नेपाल भाषा (नेवारी) सिक्न नपाएको चिन्ता पनि उनमा छ।

संस्थाका अध्यक्ष थापाका अनुसार सन् २०२४ यता बालबालिकाका लागि १४ चरणका नेपाली भाषा कार्यक्रम सम्पन्न भइसकेका छन्। ती कक्षामा तीन सयभन्दा बढी बालबालिका सहभागी भएका थिए। हाल तीनदेखि १४ वर्षसम्मका बालबालिका यहाँ नेपालीसँगै कला, संस्कृति र संयुक्त परिवारका मूल्य–मान्यताबारे पनि सिकिरहेका छन्। बालबालिकासँग कुनै शुल्क लिइँदैन। नेपाली र भारतीय नागरिकलाई शुल्क लिएर पोर्चुगिज सिकाउने र त्यसबाट उठेको रकमले नेपाली बालबालिकालाई निःशुल्क पढाउने गरेको थापाले बताए।

अनलाइन कक्षापछि थपिएको चुनौती

पछिल्लो समय वयस्क विद्यार्थी अनलाइन कक्षातर्फ मोडिन थालेपछि बालबालिकाको भौतिक कक्षा कायम राख्न चुनौती थपिएको संस्थाका सचिव विक्की श्रेष्ठ बताउँछन्। पोर्चुगिज नागरिकताका धेरै आवेदन प्रक्रियामा पोर्चुगिज भाषाको पर्याप्त ज्ञान प्रमाणित गर्नुपर्ने हुन्छ। लामो समय पोर्चुगलमा बस्ने योजना बनाएकाहरूलाई दैनिक जीवन सहज बनाउन पनि स्थानीय भाषा सिक्नु आवश्यक पर्ने श्रेष्ठको भनाइ छ।

हाल संस्थामा एक सयभन्दा बढी नेपाली र भारतीय नागरिक पोर्चुगिज भाषा सिक्दै छन्। तीमध्ये झन्डै ७० जनाले अनलाइन कक्षा रोजेका छन्। वयस्क विद्यार्थी अनलाइनतर्फ गएपछि भौतिक कक्षा सञ्चालन गर्न कठिनाइ आउने र बालबालिकाको नेपाली कक्षामा पनि त्यसको प्रभाव पर्ने संस्थाको चिन्ता छ। बालबालिकाका लागि मात्रै हप्ताको दुई दिन विद्यालय चलाउन कठिन हुने र अनलाइनबाट बालबालिकालाई भाषा सिकाउनु व्यावहारिक नहुने थापाको भनाइ छ। वयस्कलाई अनलाइनमा पोर्चुगिज पढाउँदै गर्दा बालबालिकालाई विद्यालयमा उपस्थित गराएर कसरी पढाउने भन्ने नयाँ चुनौती थपिएको उनले बताए।

अन्य कार्यक्रम

संस्थाले बालबालिकाका लागि नेपाली, हिन्दी, पोर्चुगिज र अंग्रेजी गरी चार भाषाको पुस्तक पनि प्रकाशन गरेको छ। सो पुस्तक निःशुल्क वितरण भइरहेको छ। पुस्तक वितरणमा नेपाली र भारतीय बालबालिका दुवैलाई समेटिएको सचिव श्रेष्ठले बताए।

भर्खरै पोर्चुगल आइपुगेका अभिभावकलाई स्थानीय सामाजिक व्यवहार, सार्वजनिक जीवन र समुदायसँगको अन्तरक्रियाबारे संस्थाले अभिमुखीकरण दिँदै आएको छ। त्यस्तै, तत्काल रोजगारी खोज्न सहयोग पुर्‍याउने उद्देश्यले निःशुल्क हाउसकिपिङ तालिम सञ्चालन भइरहेको छ। एक सयभन्दा बढी महिलाले तालिम लिइसकेका र अधिकांशले रोजगारी पाएको थापाले जानकारी दिए।

नेपाली सन्तानलाई आफ्नो भाषा र संस्कृति चिनाउने प्रयासको प्रतिफल सन्तोषजनक रहेको र नयाँ चुनौती आए पनि कार्यक्रमलाई निरन्तरता दिने थापाको भनाइ छ।