मुख्य सामग्रीमा जानुहोस्

संविधानका मूल मर्ममा प्रहार भए अर्को द्वन्द्व निम्तिन सक्ने वर्षमान पुनको चेतावनी

१२औँ संविधान दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेकपा नेता वर्षमान पुनले संविधानका आधारभूत संरचनामा चोट पुग्ने काम भए देश पुनः द्वन्द्वतिर जान सक्ने चेतावनी दिएका छन् । उनले सत्तारुढ रास्वपालाई…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
संविधानका मूल मर्ममा प्रहार भए अर्को द्वन्द्व निम्तिन सक्ने वर्षमान पुनको चेतावनी
Online Khabar

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुनले संविधान संशोधनको प्रक्रियामा अघि बढ्दा संविधानको मूल मर्मलाई ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । संविधानका आधारभूत संरचना नै अस्वीकार गर्ने वा पुनर्लेखनतिर लाग्ने प्रयासले मुलुकलाई फेरि द्वन्द्वतिर धकेल्न सक्ने उनको चेतावनी छ ।

१२औँ संविधान दिवसका अवसरमा नेसनल लजिस्लेटिभ एकेडेमीले बिहीबार राजधानीमा आयोजना गरेको ‘संविधान कार्यान्वयनको दोस्रो दशक : अवसर र चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।

संविधान ठूलो त्याग, तपस्या र बलिदानबाट आएको भन्दै उनले त्यसलाई नकार्ने काम भएमा शक्ति सन्तुलन बिग्रने र अर्को द्वन्द्व निम्तिन सक्ने बताए । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता संविधानका जगमै चोट पुग्ने गरी वा पुनर्लेखनतिर लाग्दा देश पुनः द्वन्द्वतिर जान सक्ने उनको धारणा छ ।

संविधानप्रतिको प्रतिबद्धता स्पष्ट पार्न उनले सत्तारुढ रास्वपालाई आग्रह गरे । संविधान निर्माणको प्रक्रियामा प्रत्यक्ष भूमिका निर्वाह नगरेका नयाँ राजनीतिक शक्तिहरू राज्य सञ्चालनको केन्द्रमा पुगेपछि उनीहरूको संविधानप्रतिको प्रतिबद्धतामाथि चासो हुनु स्वाभाविक भएको उनले उल्लेख गरे । आममानिसले पनि रास्वपाबाट संविधानप्रतिको स्पष्ट प्रतिबद्धता खोजिरहेको उनको भनाइ थियो ।

पुनर्लेखनको आशंका

संशोधनको नाममा संविधान पुनर्लेखन गर्न खोजिएको शंका उब्जिएपछि संविधान संशोधनबारेको बहस कार्यदलमा रास्वपाबाहेक अन्य दल सहभागी नभएको पुनले स्मरण गरे । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का सल्लाहकार असिम शाह नेतृत्वको उक्त कार्यदल रास्वपा एक्लैको रहेको उनको टिप्पणी छ ।

कार्यदलले संविधानका अधिकांश धारामा संशोधन गर्ने गरी प्रतिवेदन दिएको र त्यसो गरिए त्यो संशोधन नभई पुनर्लेखन हुने तर्क पुनले गरे ।

यद्यपि संविधानले विभिन्न शक्ति र संस्थाबीच कायम गरेको सन्तुलनलाई समयअनुसार परिमार्जन गर्दै लैजान भने सकिने उनले बताए । नयाँ शक्तिलाई पनि त्यही संरचनाभित्र समेट्दै शक्ति सन्तुलन कायम गर्नु नै संविधानलाई टिकाउ बनाउने बाटो भएको उनको भनाइ छ ।

संविधानको निर्माण तथा त्यसका लागि भएका संघर्ष र बलिदानको पृष्ठभूमि बुझेर र त्यसलाई स्वीकार गरेर अघि बढ्न पुनले रास्वपालाई आग्रह गरेका छन् ।