मुख्य सामग्रीमा जानुहोस्

जेनजी सहिदका सन्तान र बाढी प्रभावित बालबालिका बाल दिवसमा एकै ठाउँमा

राष्ट्रिय बाल दिवसका अवसरमा गोल्यान फाउन्डेसनले जेनजी आन्दोलनमा अभिभावक गुमाएका सहिदका सन्तान र भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई एकै ठाउँमा भेला गराएको छ। चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टर…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
जेनजी सहिदका सन्तान र बाढी प्रभावित बालबालिका बाल दिवसमा एकै ठाउँमा
Online Khabar

राष्ट्रिय बाल दिवसका अवसरमा गोल्यान ग्रुपको सामाजिक सहकार्यात्मक संस्था गोल्यान फाउन्डेसनले जेनजी आन्दोलनमा अभिभावक गुमाएका सहिदका सन्तान र भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई एकै थलोमा भेला गराएर कार्यक्रम गरेको छ। नुवाकोटको त्रिशूली नदी किनारमा आयोजित उक्त कार्यक्रममा दुई फरक पृष्ठभूमिका बालबालिकाबीच भेटघाट, खेल र फेस पेन्टिङलगायत गतिविधि सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ।

विदुर नगरपालिका–५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा करिब ६० जना बाढी प्रभावित बालबालिका सहभागी थिए। काठमाडौंमा अध्ययनरत १५ जना जेनजी सहिदका बालबालिका र उनीहरूका अभिभावकलाई फाउन्डेसनले विदुर पुर्‍याएको थियो। बालबालिका र अभिभावक गरी कार्यक्रममा करिब १२० जनाको सहभागिता रहेको फाउन्डेसनले जानकारी दिएको छ।

सहभागी बालबालिकाको पीडा फरक प्रकृतिको थियो। कोही एक वर्षअघिको जेनजी आन्दोलनमा अभिभावक गुमाएर आएका थिए भने कोही यही भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीमा घरबार तथा आफन्त गुमाएर। तर पीडाको बीचमा पनि खेल्नु, रमाउनु र मनोरञ्जन गर्नु बालअधिकारको अभिन्न हिस्सा भएकाले त्यही पक्षलाई केन्द्रमा राखेर यो कार्यक्रम गरिएको आयोजकको भनाइ छ।

भेटघाट र खेलमा केन्द्रित कार्यक्रम

फरक भूगोल र परिवेशबाट आएका बालबालिका केही समयमै एकअर्कासँग घुलमिल भए। उनीहरूले सँगै खेल खेले, एकअर्कासँग चिनजान गरे र मित्रताको सम्बन्धसमेत गाँसे। फेस पेन्टिङलगायत बालमनोरञ्जनात्मक गतिविधिले कार्यक्रमको आकर्षण बनेको थियो।

गोल्यान फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा गोल्यान ग्रुपका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रेका अनुसार फाउन्डेसन दुवै समूहका बालबालिकाका लागि काम गरिरहेको छ। यही सन्दर्भमा बाल दिवसको अवसर पारेर उनीहरूलाई एकै ठाउँमा राखेर दिवस मनाउने निर्णय गरिएको उनले बताइन्।

शैक्षिक सहयोग र परामर्श

फाउन्डेसनले एक वर्षदेखि जेनजी सहिदका सन्तानलाई अध्ययनमा सहयोग गर्दै आएको छ। सहिदका ३१ जना बालबालिकालाई कक्षा १२ सम्मको शिक्षाका लागि मासिक ४० हजार रुपैयाँका दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्मको शैक्षिकवृत्ति प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।

यसैगरी पछिल्लो समय बाढीबाट प्रभावित बालबालिकालाई विदुर नगरपालिका–५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा भोजन, बालमनोसामाजिक परामर्श, खेल तथा शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ।

कार्यक्रममा सहभागी बाढी प्रभावितसमेत रहेका विदुर नगरपालिका–५ का वडा सदस्य विनोद चित्रकारले फरक–फरक मनोसामाजिक समस्याबाट प्रभावित बालबालिकालाई एकै थलोमा भेला गराएर बाल दिवस मनाउँदा सकारात्मक प्रभाव परेको बताए। बालबालिकालाई खुसी दिनु सबैको दायित्व हो भन्ने सन्देश यो कार्यक्रमले दिएको उनको भनाइ छ।

सहिद परिवारकी सदस्य पार्वती अधिकारीले कार्यक्रमले बालबालिकाको मुहारमा खुसी थपेको बताइन्। एक वर्षदेखि सँगै रहेका सहिदका बालबच्चाले त्यहाँ गएर नयाँ साथी बनाएको र आफूहरूलाई पनि बाढी प्रभावितको पीडा बुझ्ने अवसर मिलेको उनले सुनाइन्। जीवनमा जस्तोसुकै दुःख आइलागे पनि सहनुपर्छ भन्ने शक्ति यसबाट मिलेको उनको भनाइ छ।