मुख्य सामग्रीमा जानुहोस्

काभ्रेको पनौतीमा छोरीद्वारा बुबाको काजकिरिया, छोरा–छोरी समान हुन् भन्ने सन्देश

काभ्रेपलाञ्चोकको पनौतीमा एक छोरीले बुबाको काजकिरिया गरिरहेकी छिन् । आमाबुबाका सन्तान छोरा र छोरी दुवै समान हुन् भन्ने व्यावहारिक सन्देश दिन आफूले यो कर्तव्य निर्वाह गरेको उनको भनाइ छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
काभ्रेको पनौतीमा छोरीद्वारा बुबाको काजकिरिया, छोरा–छोरी समान हुन् भन्ने सन्देश
Nagariknetwork

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ धनेश्वरका सुन्दर थापाको निधनपछि उनकी एकमात्र छोरी समीक्षा बुबाको काजकिरियामा बसेकी छिन् । गत भदौ २८ गते थापाको निधन भएको थियो ।

छोरी पनि आमाबुबाको छोरासरह समान सन्तान हुन् भन्ने व्यावहारिक सन्देश दिनका लागि आफूले यो कर्तव्य सम्झेर काजकिरियामा बसेको समीक्षाको भनाइ छ । स्थानीय दीपक थापाका अनुसार बुबाको निधनपछि समीक्षा आफैँ काजकिरियामा सहभागी भएर उनले सोही सन्देश दिन खोजेकी हुन् ।

नेपाली समाजमा अभिभावकको काजकिरिया छोरा वा पुरुष सन्तानले मात्र गर्नुपर्ने मान्यता रहँदै आएको छ । यही मान्यता तोड्ने उद्देश्यले आफूले यो पहल गरेको समीक्षाले बताएकी छिन् ।

यसअघि पनि छोरीहरूले नै गरेका थिए

गत वर्षको साउनमा बनेपा नगरपालिका उपप्रमुख विमला दाहाल सापकोटासहित तीन छोरीले बुबाको काजकिरिया गरेका थिए । पनौती नगरपालिका-१ रयालेका हरिप्रसाद सापकोटाको ९१ वर्षको उमेरमा निधन भएपछि दाहालसहित तीन छोरी काजकिरियामा बसेका थिए ।

छोरीहरूले काजकिरिया गरेको विषयलाई लिएर आलोचना सुरु भएपछि ती तीनै छोरीले सार्वजनिक रूपमा आफ्नो भनाइ अघि सारेका थिए ।

१३ दिन हाम्रो बुबाको घरमा बसेर काजकिरिया गर्न देऊ, पीडा नदेऊ, १३ दिनपछि सदाका लागि माइतीको ढोका बन्द गरेर कर्मघर फर्कनेछौँ ।

उनीहरूले आफूहरू बहिष्कार सहन तयार रहेको तर कानुन र संविधानविपरीतको काम गर्न नहुने चेतावनी समेत दिएका थिए । स्थानीयले पुरोहितलाई समेत बहिष्कार गर्ने धम्की दिएपछि अर्का पुरोहितमार्फत काजकिरिया गराइएको थियो ।

कानुनले दिएको अधिकार

नेपालको संविधान र मुलुकी देवानी संहिताले छोरा र छोरीलाई समान अधिकार दिएको छ । सोही संहितअनुसार छोरीलाई बुबाको सम्पत्ति लिन, उत्तराधिकारी बन्न तथा काजकिरिया गर्न छोरासरह अधिकार प्राप्त छ ।