मुख्य सामग्रीमा जानुहोस्

चार प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा तराई भूभागनजिक रहेकाले विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

२० साउन, काठमाडौं । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक छ।

विभागका अनुसार हाल देशभर सामान्यतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि यस्तै वर्षा भइरहेको विभागको भनाइ छ।

दिउँसोको मौसम

आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्ने विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ। तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

त्यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिको पूर्वानुमान

आज राति देशभर सामान्यतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागसँगै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्ने विभागले जनाएको छ।

कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागको भनाइ छ।