मुख्य सामग्रीमा जानुहोस्

बाजुराका उच्च हिमाली भेगमा भारी हिमपात, दुई पर्यटक बडीमालिकामा सम्पर्कविहीन

बाजुराका बडीमालिका, बूढीनन्दा, गौमुल, खप्तड छेडेदहलगायत स्थानीय तहका माथिल्ला भेगमा गएराति नै हिमपात परेको छ। वर्षा र हिमपातका कारण ग्रामीण सडकमा हिँडडुल गाह्रो भएको छ भने किसानको बाली भित्र्याउने काम प्रभावित भएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
बाजुराका उच्च हिमाली भेगमा भारी हिमपात, दुई पर्यटक बडीमालिकामा सम्पर्कविहीन
Nagariknetwork

बाजुरा — शुक्रबारदेखि जिल्लाभर लगातार वर्षा भइरहेका बेला उच्च हिमाली भेगमा भारी हिमपात परेको छ। हावाहुरी, पानी र हिमपात एकैपटक भएपछि चिसो ह्वात्तै बढेको छ र यसले जिल्लाको दैनिक जनजीवन प्रभावित बनाएको छ।

बडीमालिका, बूढीनन्दा, गौमुल, खप्तड छेडेदह र हिमाली लगायतका स्थानीय तहका माथिल्ला भेगमा गएराति नै हिमपात सुरु भएको थियो। जिल्लामा भने पानी पर्ने क्रम अझै रोकिएको छैन।

बढेको चिसोले स्थानीय बासिन्दा, पशुचौपाया र दैनिक कामकाजमा असर पुगेको छ। वृद्धवृद्धा, बालबालिका र बिरामीलाई चिसोले बढी सताएको छ। यसैगरी ग्रामीण क्षेत्रका सडक तथा पैदलमार्गमा आवतजावत गर्न पनि कठिनाइ भएको छ।

निरन्तर पानी पर्ने र हावाहुरी चल्ने क्रमका कारण गएरातिदेखि जिल्लामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ।

किसानलाई बाली भित्र्याउन चटारो

मौसम बदलिएर चिसो ह्वात्तै बढ्न थालेपछि दैनिक जनजीवन प्रभावित भएको स्थानीय शेरबहादुर बुढाले बताए। जिल्लामा धान भित्र्याउने काम अन्तिम चरणमा छ भने किसान कोदोबाली काट्ने चटारोमा छन्। यही बेला परेको पानीले उनीहरूको काममा बाधा पुर्‍याएको उनको भनाइ छ।

मौसममा सुधार नआए खेतमै रहेको पराल सुकाउन र पोकेर राखिएको बाली सुरक्षित रूपमा भित्र्याउन समस्या हुने बुढाले बताए। कृषि तथा पशुपालनका दैनिक काममा पनि किसानलाई असहज भएको छ।

बडीमालिकामा दुई पर्यटक सम्पर्कविहीन

धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका पुगेका दुई जना पर्यटक पनि सम्पर्कविहीन भएका छन्। लगातारको वर्षासहित भारी हिमपात भएपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की सम्पर्कविहीन छन्। असोज ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो। सोही टोलीका तीन जना भने बडीमालिका पुगेर मार्तडी फर्किसकेका छन्।