नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ र देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने अवस्था रहेको नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंबाट सार्वजनिक गरिएको आजको पूर्वानुमानअनुसार दिउँसो देशभरको मौसम सामान्यतया खुला रहनेछ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना पनि महाशाखाले औंल्याएको छ।
रातिको अवस्थाबारे महाशाखाले जारी गरेको विवरणमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्ने उल्लेख छ। यीबाहेकका पहाडी र तराई भूभागमा भने राति मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको पूर्वानुमानमा जनाइएको छ।
यसैगरी तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु वा कुहिरो लाग्ने महाशाखाले जनाएको छ।







