मुख्य सामग्रीमा जानुहोस्

विकासका कथा नयाँ पुस्तासम्म पुर्‍याउन नसक्दा नकारात्मक भाष्य बलियो भयो : देउवा

लामो समय उपचारपछि स्वदेश फर्किएका शेरबहादुर देउवाले कांग्रेसको विगतको भूमिकाबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको बताए। विकास र परिवर्तनका उपलब्धि जनतासम्म पुर्‍याउन नसक्दा ‘केही भएन, सबै खराब भयो’ भन्ने भाष्य बनेको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork

नेपाली कांग्रेसका निवर्तमा सभापति शेरबहादुर देउवाले देश अहिले कठिन अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन्। पार्टीको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले लोकतन्त्र र राजनीतिक परिवर्तनमा कांग्रेसको भूमिकाको स्मरण गराए र विगतका कमजोरी सुधारेर अघि बढ्नुपर्ने धारणा राखे।

लामो समय स्वास्थ्य उपचारका लागि परिवारसहित विदेशमा रहेका देउवा हालै स्वदेश फर्किएका हुन्। फर्किएपछि विमानस्थलदेखि नै स्वागत गर्ने नेता तथा कार्यकर्ताप्रति उनले आभार जनाए। “लामो समय उपचारका लागि सपरिवार विदेशमा बसेँ, हिजो मात्रै नेपाल फर्किएँ,” उनले भने।

विगतका आन्दोलनको समीक्षा

देउवाले वर्तमान अवस्थाको सही बोध गर्न पार्टीले विगतमा निर्वाह गरेको भूमिकाको समीक्षा हुनुपर्ने बताए। २००७ सालको राजनीतिक परिवर्तन, २०३६ सालको जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को आन्दोलनसम्म कांग्रेसले पुर्‍याएको योगदानबारे नयाँ पुस्ता जानकार हुनु आवश्यक रहेको उनको भनाइ छ।

“विगतका कमजोरी सच्याएर अघि बढ्न सके मात्रै सही बाटो भेटिन्छ,” उनले भने। विगतका उपलब्धि र त्रुटि दुवैको गम्भीर समीक्षा गर्दै सुधारको यात्रामा लाग्नुपर्नेमा उनले जोड दिए।

नयाँ पुस्तासम्म पुर्‍याउन नसकिएका उपलब्धि

मुलुकमा भएका विकास र परिवर्तनका सकारात्मक पक्ष जनतासम्म, विशेषगरी नयाँ पुस्तामाझ पुर्‍याउन नसक्दा नकारात्मक भाष्य बलियो भएको देउवाको तर्क छ। “केही भएन, सबै खराब भयो भन्ने भाष्य समाजमा स्थापित हुँदा यस्तो अवस्था आयो,” उनले भने। विकासका कथा नयाँ पुस्तासँग साट्न जरुरी रहेको उनले बताए।

पार्टीले आफ्ना योगदानको बयानमा मात्र सीमित नरही कमजोरी सच्याउँदै सकारात्मक उपलब्धि जनतामाझ ल्याउन सके नयाँ पुस्तासँगको सम्बन्ध अझ प्रगाढ हुने उनको धारणा छ।