मुख्य सामग्रीमा जानुहोस्

स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै ? दलहरूबीच टुंगो लाग्न सकेन

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठमा र प्रदेश सभा सदस्यको पदावधि मंसिरमा सकिँदै छ । यी दुई निर्वाचन एउटै मितिमा गर्ने कि फरक–फरक समयमा गर्ने भन्ने विषयमा दलहरूबीच मतैक्य छैन । सरकारी पक्षले विपक्षी दलहरूसँग संवाद…

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै ? दलहरूबीच टुंगो लाग्न सकेन
Online Khabar

स्थानीय तह र प्रदेश सभाको निर्वाचन एउटै मितिमा गर्ने कि फरक–फरक समयमा गर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच सहमति बन्न सकेको छैन । सत्तारुढ रास्वपाले दुवै तहको चुनाव एकै पटक गर्नुपर्ने पक्षमा आफूलाई उभ्याएको छ । दुई विपक्षी वाम दल एमाले र नेकपा भने संवैधानिक व्यवस्था पछ्याउँदै निर्वाचन छुट्टाछुट्टै मितिमा हुनुपर्ने अडानमा छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसको झुकाव भने रास्वपाको धारणातर्फ देखिएको छ ।

जेठको पहिलो साता स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिँदै छ । प्रदेश सभा सदस्यको पदावधि भने आउँदो मंसिरको पहिलो साता पूरा हुनेछ । स्थानीय तह निर्वाचन ऐन २०७३ ले मतदान हुनुभन्दा दुई महिना अगावै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरेको छ । सोही कानुन पछ्याउने हो भने स्थानीय तहको चुनाव चैतको पहिलो साताभित्र गरिसक्नुपर्ने हुन्छ । दुवै तहको निर्वाचन सँगै गर्ने हो भने ३० फागुनमा स्थानीय तहको मतदान हुनुपर्ने देखिन्छ । दुई तहका जनप्रतिनिधिको कार्यकाल सकिने अवधिबीच कम्तीमा छ महिनाको अन्तर छ ।

सत्तापक्षको तर्क : खर्च र आचारसंहिता

एकै पटक निर्वाचन गर्दा हुने फाइदाबारे सत्तापक्षले चुनावी खर्च र सरकारको काममा पर्ने असरलाई प्रमुख आधार बनाएको छ । सामान्यतया मतदान हुनुभन्दा ४५ दिनअघि आचारसंहिता लागू गर्ने प्रचलन छ । छुट्टाछुट्टै समयमा निर्वाचन हुँदा दुई–दुई पटक आचारसंहिता लागू हुने भएकाले करिब तीन महिना संघीय सरकारले निर्णय गर्न नपाउने अवस्था आउने सत्तापक्षको बुझाइ छ ।

रास्वपाका प्रवक्ता जगदिश खरेल चैतमा स्थानीय तह, मंसिरमा प्रदेश सभा सदस्य, माघतिर राष्ट्रिय सभा सदस्य र त्यसपछि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुँदा दलहरूको ध्यान वर्षभरि नै चुनावमा केन्द्रित हुने बताउँछन् । चुनाव नजिकिँदै गर्दा ठूला खर्च गर्न नपाइने र बजेट विनियोजनमा समस्या पर्ने उनको भनाइ छ । विकास खर्च पहिलेदेखि नै सुस्त रहेको अवस्थामा वर्षभरि निर्वाचन भइरहँदा त्यसले थप असर पार्ने उनको तर्क छ । संविधानको मर्म नमेटिने गरी राष्ट्रिय सहमति जुटाउन सके एकै पटक निर्वाचन गर्ने विकल्प रहेको खरेल बताउँछन् ।

खर्चको हिसाब पनि सत्तापक्षले देखाएको छ । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ११ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको थियो । सोही वर्ष प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन एकसाथ गर्दा १६ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको थियो । दुई तहको निर्वाचन सँगै गर्दा सरकारी खर्च घट्ने सत्तापक्षको भनाइ छ ।

आगामी २०८४ सालमा स्थानीय र प्रदेशको निर्वाचनबाहेक राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपतिका लागि पनि निर्वाचन गर्नुपर्ने हुन्छ ।

विपक्षको अडान : संविधान बाहिर नजाने

चुनावी खर्चको आधारमा एकै पटक निर्वाचन गर्ने सत्तापक्षको तर्कसँग नेकपा सहमत छैन । खर्चको कारण देखाएर संविधानविपरित काम गर्न नहुने नेकपा नेता प्रकाश ज्वाला बताउँछन् । कुनै प्रदेशमा पाँच वर्ष सरकार नचल्ने र मध्यावधिमा जानुपर्ने अवस्था आए फरक–फरक समयमा निर्वाचन गर्नैपर्ने बाध्यता रहने उनको भनाइ छ । प्रतिनिधि सभा बीचमा भंग भएर अहिलेको अवस्था आएको र कुनै प्रदेश सभा विघटन भए त्यसका लागि छुट्टै समयमा निर्वाचन गर्नुपर्ने उनले बताए ।

दुवै तहका जनप्रतिनिधिले पाँच–पाँच वर्ष पूरा गरेपछि निर्वाचन फरक–फरक समयमा हुनुपर्ने नेकपाको दृष्टिकोण छ । बैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश सभा सदस्यको निर्वाचन गर्नुपर्ने ज्वाला बताउँछन् । प्रदेशको कार्यकाल घटाउने र स्थानीय तहको कार्यकाल बढाउने अधिकार संविधान र कानुनले नदिने उनको भनाइ छ ।

एमाले पनि संवैधानिक व्यवस्था अनुसार फरक–फरक समयमा निर्वाचन हुनुपर्ने अडानमा अडिग देखिन्छ । स्थानीय तहको निर्वाचन पछि सार्न वा प्रदेशको अघि सारेर गर्न अवस्था नरहेको एमाले उपाध्यक्ष गुरु बराल बताउँछन् । आफ्नो–आफ्नो मिति पुगेपछि अलग–अलग समयमा निर्वाचन गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय सहमति वा संविधान संशोधन गरेर यो विषय टुंग्याउन नसकिने बरालको भनाइ छ ।

कांग्रेसको सर्त र राप्रपाको समर्थन

प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सरकारले पहिले आफ्नो धारणा स्पष्ट गर्नुपर्ने बताएको छ । कांग्रेस सभापति गगन थापाका अनुसार सरकारले आफ्नो धारणा सार्वजनिक गरेपछि मात्र दलहरूबीच र पार्टीभित्र छलफल अघि बढ्न सक्छ । फरक–फरक समयमा निर्वाचन हुँदा तीनै तहका सरकारको प्रभावकारितामा असर पर्ने उनको भनाइ छ । निर्वाचनपछि आचारसंहिताले तीनै तहका सरकार बाँधिने र त्यसको सबैभन्दा ठूलो प्रभाव केन्द्रीय सरकारमा पर्ने थापा बताउँछन् । एकै पटक निर्वाचन गर्ने हो भने संविधान र कानुनका कठिनाई हटाउन अन्य दलसँग संवाद गर्ने मूल दायित्व सरकारकै भएको उनको भनाइ छ ।

राप्रपा भने सत्तारुढ रास्वपाकै लाइनमा उभिएको छ । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही दुई पटक निर्वाचन हुँदा अनावश्यक खर्च बढ्ने र त्यो व्यहोर्न नसकिने तर्क गर्छन् । कानुनी जटिलता रहे अध्यादेशबाटै अप्ठ्यारो हटाउन सकिने उनको भनाइ छ ।

श्रम संस्कृति पार्टीले भने यस विषयमा आफ्नो धारणा बनाइसकेको छैन । पार्टीका महासचिव आरेन राईले पार्टीभित्र र अन्य दलहरूसँग छलफल गरेर दृष्टिकोण तय गरिने जानकारी दिएका छन् ।

सरकारले एकै पटक निर्वाचन गर्न चाहे पनि कानुनी जटिलता भने कायमै छ । त्यसका लागि सरकारी पक्षले विपक्षी दलहरूसँग संवादको प्रक्रिया भने अघि बढाएको छैन ।