मुख्य सामग्रीमा जानुहोस्

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ भन्दै ट्रम्पद्वारा नक्सा सार्वजनिक, इरानद्वारा अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी भूभाग’ भन्दै सामाजिक सञ्जालमा नक्सा पोस्ट गरेका छन्। इरानले उक्त दाबी अस्वीकार गरेको छ भने पछिल्ला दुई सातामा होर्मुज आवागमनको ८० प्रतिशतभन्दा बढी…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ भन्दै ट्रम्पद्वारा नक्सा सार्वजनिक, इरानद्वारा अस्वीकार
Online Khabar

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ घोषणा गर्दै त्यसको नक्सा सार्वजनिक गरेका छन्। आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा मङ्गलबार राखिएको पोस्टमा उनले होर्मुज जलडमरूमध्यलाई अमेरिकी क्षेत्रका रूपमा देखाउने दाबी गरेका हुन्।

पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीचको जलडमरूमध्य भागलाई घेरा हालिएको छ र त्यसमाथि ‘नयाँ अमेरिकी भूभाग’ भन्ने शब्द देखिन्छ। यसअघि न्यूयोर्कको एक कार्यक्रममा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि होर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने आफ्नो योजना सुनाइसकेका थिए।

ट्रम्पको सो दाबीलाई इरानले भने अस्वीकार गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रजाईले होर्मुजमाथिको नियन्त्रण आफ्नै क्षेत्रमा रहेको बताउँदै अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता नगरेसम्म तथा लेबनान र गाजासहित क्षेत्रमा युद्धविरामका लागि सहमत नभएसम्म होर्मुज बन्द रहने जिकिर गरेका छन्।

जहाज आवागमनका आँकडा के भन्छन् ?

सीएनएनले जहाजको ट्रान्सपोन्डर र स्याटेलाइट डेटाका आधारमा होर्मुज क्षेत्रमा इरानको नियन्त्रण ठूलो मात्रामा कमजोर भएको देखिएको जनाएको छ। निगरानी कम्पनी केप्लरले सङ्कलन गरेको तथ्यांकअनुसार, पछिल्ला दुई सातामा होर्मुज हुँदै भएको जहाज आवागमनमध्ये ८० प्रतिशतभन्दा बढी ओमानतर्फको मार्गबाट भएको छ। संयुक्त राष्ट्रसंघले मान्यता दिएको उक्त सामुद्रिक मार्गको इरानले लामो समयदेखि विरोध गर्दै आएको छ।

इरानले होर्मुज आफ्नै नियन्त्रणमा रहेको घोषणा गर्दै ओमानको उत्तरी तट हुँदै जलमार्ग पार गर्न खोज्ने दर्जनौँ जहाजमाथि आक्रमण गरेको थियो। तर आक्रमणको जोखिमका बाबजुद पछिल्लो समय अधिकांश जहाज अमेरिकी नौसेनाको सुरक्षाको आश्वासनसहित उक्त मार्ग प्रयोग गर्न थालेका छन्। केप्लरका कच्चा तेल विश्लेषण प्रमुख होमायुन फलाक्शाहीले इरानले जलडमरूमध्यमाथिको नियन्त्रण कम्तीमा आंशिक रूपमा गुमाएको बताएका छन्।

कुवेत, साउदी अरब र यूएईले विश्वका ठूला तेल ट्यांकरमध्ये पर्ने ‘भेरी लार्ज क्रुड क्यारियर’ (भीएलसीसी) चार्टर गरी फारसको खाडीबाट होर्मुज हुँदै तेल ढुवानी गरिरहेका छन्। इरानी आक्रमणबाट बच्न उनीहरूले जोखिम क्षेत्रबाहिर ओमानको खाडीमा ग्राहकका ट्यांकरमा तेल स्थानान्तरण गर्ने गरेका छन्। कतिपय ट्यांकरले आफ्नो ट्रान्सपोन्डर बन्द गर्ने गरेकाले त्यस्तो आवागमनलाई ‘डार्क ट्राफिक’ भनिन्छ। ट्रान्सपोन्डर बन्द भएपछि परम्परागत निगरानी प्रणालीले यस्ता जहाज चिन्न कठिन हुन्छ, तर स्याटेलाइटमार्फत केहीलाई पहिचान गर्न सकिन्छ।

एक महिनाको अवधिमै स्थिति निकै परिवर्तन भएको छ। केप्लरका अनुसार एक महिनाअघि ओमानतर्फको मार्ग भएर व्यावसायिक जहाज लगभग गुज्रेका थिएनन्, तर अहिले यही मार्ग प्रमुख विकल्प बनेको छ। इरानले होर्मुज हुँदै जाने जहाजबाट उठाउँदै आएको शुल्क पनि गुमाएको छ। अमेरिका र इरानबीचको समझदारीपत्र (एमओयू) यसै साता समाप्त भएसँगै सैद्धान्तिक रूपमा इरानले फेरि शुल्क लिन सक्ने अवस्था छ, तर व्यवहारमा उसले त्यसो गर्न सकेको छैन। ऊर्जा विज्ञ डान पिकरिङले मध्यपूर्वका अधिकांश पक्ष इरानलाई यस्तो शुल्क तिर्न इच्छुक नदेखिएकाले ओमानतर्फकै मार्ग सबैभन्दा व्यावहारिक विकल्प बनेको बताए।

अमेरिकी ऊर्जा सचिव क्रिस राइटले गत साता होर्मुज हुँदै र वैकल्पिक मार्गबाट हुने तेल ढुवानीको संयुक्त मात्रा दैनिक करिब १ करोड ५० लाख ब्यारेल रहेको बताएका थिए। युद्ध सुरु हुनुअघि दैनिक औसत करिब २ करोड ब्यारेल तेल ढुवानी हुने गरेको थियो।

‘पूर्ण नियन्त्रण’को दाबीमाथि प्रश्न

यही तथ्यांकका आधारमा अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार होर्मुज जलडमरूमध्यमाथि आफ्नो देशको ‘पूर्ण नियन्त्रण’ रहेको दाबी दोहोर्याएका थिए। तर इरानले अझै पनि जहाजमाथि आक्रमण गरिरहेको र तेल आवागमन युद्धपूर्वको स्तरभन्दा कम रहेकाले उक्त दाबीमाथि प्रश्न उठेको छ। विश्लेषकहरूका अनुसार जलडमरूमध्यमा न त इरानको पूर्ण नियन्त्रण छ, न त अमेरिकाको।

ऊर्जाविज्ञ पिकरिङले इरानको उद्देश्य जलडमरूमध्यमाथि पूर्ण नियन्त्रण कायम गर्नुभन्दा पनि आफ्नो प्रभाव र प्रतिरोध क्षमता देखाउनु हुन सक्ने बताएका छन्। उनका अनुसार इरानसँग अझै पनि जहाजलाई केही हदसम्म रोक्ने क्षमता छ। तर अमेरिकाले दाबी गरेजस्तै ठूलो संख्यामा तेल ट्यांकर होर्मुज हुँदै आवतजावत गरिरहेको छ भने इरानको प्रतिरोध क्षमता र नियन्त्रण एक–दुई महिनाअघिको तुलनामा स्पष्ट रूपमा कमजोर भएको देखिने उनको भनाइ छ।

यसैबीच, ओमान र इरानले अमेरिकी सहभागिताबिना होर्मुज जलडमरूमध्यमा स्वतन्त्र सामुद्रिक आवागमन पुनःस्थापना गर्ने विषयमा वार्ता गरिरहेका छन्। यस वार्ताले तेल ढुवानी र जलमार्गको नियन्त्रणमा कस्तो प्रभाव पार्नेछ भन्ने स्पष्ट भइसकेको छैन। सीएनएनको समाचारमा तेल बजार विश्लेषक एन्डी लिपोलाई उद्धृत गर्दै भनिएको छ, होर्मुजका बारेमा आएका सबै दाबी र समाचारलाई सावधानीपूर्वक हेर्न आवश्यक भए पनि इरानले जलडमरूमध्यमाथिको नियन्त्रण आंशिक रूपमा गुमाएको निष्कर्ष निकाल्नु उचित हुन्छ।