बुधबार बिहान भारतको कोलकातामा भएको होटल आगलागीले नौ जनाको ज्यान लिएको छ । घटनामा परी छ जना गम्भीर घाइते भएको प्रारम्भिक जानकारी छ ।
कोलकाताको मिर्जा गालिब स्ट्रिटमा रहेको होटलमा बिहान करिब दुई बजे आगो देखिएको थियो । आगलागी हुँदा होटलमा रहेका अधिकांश मानिस सुतिरहेको अवस्था थियो ।
प्रारम्भिक जानकारीअनुसार ज्यान गुमाउनेमध्ये सबै बंगलादेशी नागरिक हुन् । उनीहरू उपचारका सिलसिलामा कोलकाता पुगेका बताइएको छ ।
आगोबाट बाक्लो धुवाँ र ठूला लप्का निस्किएसँगै होटल परिसरमा त्रास र भागदौड मच्चिएको थियो । आगोले केही समयमै तीव्र रूप लिँदै फैलिएको थियो ।
घटनाको सूचना पाएलगत्तै प्रहरी र दमकलका धेरै गाडी घटनास्थल पुगेर उद्धारकार्य सुरु गरेका थिए । तर बाक्लो धुवाँका कारण दमकल टोलीलाई होटलका माथिल्ला तलामा पुग्न कठिन भएको थियो । लामो प्रयासपछि आगो पूर्णरूपमा नियन्त्रणमा आएको हो ।
आगलागी कसरी सुरु भयो भन्ने विषयमा अहिलेसम्म केही खुलेको छैन । प्रहरीले फरेन्सिक टोलीसहित घटनाको अनुसन्धान अगाडि बढाएको छ ।
यसअघि सोमबार पश्चिम बंगालकै बीरभूम जिल्लामा रहेको चारतले होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको थियो ।







