मुख्य सामग्रीमा जानुहोस्

कमेडी शोमा व्यंग्य गरेपछि धम्की आएको अमरेन्द्रको भनाइ, सूर्य थापाले भने– रोस्ट सामना गर्न सक्ने मान्छे

टिभी शो ‘कमेडी बाज’ को १५ औं एपिसोडमा व्यंग्य गरेपछि कमेडियन अमरेन्द्र यादवले मार्ने धम्की र व्यक्तिगत गाली सहनु परेको बताएका छन्। सोही एपिसोडका अतिथि एमाले नेता सूर्य थापाले रोस्ट सुन्न र सामना गर्न सक्ने आफूजस्ता…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
कमेडी शोमा व्यंग्य गरेपछि धम्की आएको अमरेन्द्रको भनाइ, सूर्य थापाले भने– रोस्ट सामना गर्न सक्ने मान्छे
Online Khabar

कमेडियन अमरेन्द्र यादवले टिभी कार्यक्रम ‘कमेडी बाज’ मा गरेको व्यंग्य प्रस्तुतिपछि आफूलाई मार्ने धम्की र व्यक्तिगत गाली आएको बताएका छन्। सामाजिक सञ्जालमा उनले कमेडीलाई मनोरञ्जनका रूपमा बुझ्न र व्यक्तिगत आक्रोश नपोख्न सबैमा आग्रह गरेका छन्।

युट्युबमा मंगलबार प्रसारण भएको ‘कमेडी बाज’ को १५ औं एपिसोडमा नेकपा एमालेका नेता सूर्य थापा र अर्का नेता मुकुल ढकाल अतिथिका रूपमा पुगेका थिए। सो कार्यक्रममा यादवले केपी ओलीसहित एमालेका नेताहरूलाई लक्ष्य गर्दै व्यंग्य गरेका थिए। एपिसोडको टिजर सार्वजनिक भएदेखि नै आफूमाथि दबाब आउन थालेको यादवको भनाइ छ।

पछिल्लो समय भिडियो सार्वजनिक भएदेखि नै आफूले निरन्तर मानसिक दबाब, व्यक्तिगत गाली र यातना भोगिरहेको उनले उल्लेख गरेका छन्। धम्की दिनेहरू को हुन् भन्ने यकिन नभए पनि आफूलाई एमाले विरोधी भन्दै गाली गरिएको उनको आशंका छ। पटकपटकको धम्कीपछि आफू कोठाभित्रै सीमित हुन बाध्य भएको उनको भनाइ छ।

रोस्ट गर्नु आफ्नो पेसाको हिस्सा भएको भन्दै यादवले कार्यक्रममा सहभागी हुने अतिथिहरूलाई रोस्ट हुन सक्ने कुरा थाहा हुने प्रश्नसमेत उठाएका छन्। रोस्ट गरेकै कारण आफूले ठूलो गल्ती गरेको ठान्नुपर्ने अवस्था आएकोमा उनले असन्तुष्टि जनाएका छन्।

यादवको स्टाटसपछि एमाले नेता सूर्य थापाले फेसबुकमार्फत प्रतिक्रिया दिएका छन्। उनले शोको भिडियो सेयर गर्दै आफू अतिथि बन्नुअघि सुन्दर खनालसँग भेटेर छलफल गरेपछि मात्र सहमत भएको स्मरण गराएका छन्। आफू यस्ता कार्यक्रममा खासै रुचि नराख्ने व्यक्ति भएको उनले बताएका छन्।

थापाले यादवको धम्कीसम्बन्धी स्टाटस देख्दा आश्चर्य लागेको उल्लेख गर्दै चर्चामा आउनका लागि यो फण्डा नहुने आशा व्यक्त गरेका छन्। आफू जुनसुकै प्रश्न र रोस्ट सुन्ने तथा सामना गर्ने क्षमता भएको व्यक्ति भएको उनको भनाइ छ। जानीबुझी कार्यक्रममा जानुको अर्थ रोस्ट, टोस्ट र होस्ट सबै स्वीकार गरेरै भएको उनले बताएका छन्। तर यस्ता कार्यक्रमहरू सन्देशमूलक हुनुको सट्टा सस्तो रूपमा प्रस्तुत हुनु तथा अनावश्यक प्रचार गर्नु राम्रो नहुने उनको टिप्पणी छ।