लेखक केशवराज ज्ञवालीलाई चर्चाको केन्द्रमा रहने लालसा छैन। पाठकको प्रशंसाले निछावर हुने इच्छा पनि उनको मनमा छैन। तर, उनको हालै प्रकाशित उपन्यास ‘अज्ञात’ ले नेपाली साहित्यिक वृत्तमा भने राम्रै चर्चा पाएको छ। यसले पाठकको ध्यान मात्र होइन, साहित्यिक विमर्शमा पनि स्थान बनाएको छ।
ज्ञवाली भने अझै पनि इमान्दार र सशक्त आलोचनाको प्रतीक्षामा छन्। प्रशंसा गर्नेहरूप्रति उनी कृतज्ञ छन्, तर आफ्नो उपन्यासमा कसैले त्रुटि औँल्याइदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ। उनी भन्छन्, ‘आफ्नो परिश्रमको कदर हुँदा खुसी लाग्छ नै। तर, कुनै लेखकको गुणस्तर घटाउनु छ भने उसलाई तारिफको पुल चढाउनुपर्छ। त्यसैले सिर्जनशील व्यक्तिहरूले साक्षी भावले गरिएको समालोचनालाई विशेष रूपमा ग्रहण गर्नुपर्छ।’
ज्ञवाली लेखक–पाठकको वृत्तमा खासै परिचित छैनन्। उनलाई आउने अधिकांश प्रतिक्रिया अपरिचित व्यक्तिहरूबाट आइरहेका छन्। त्यसैले उनी प्रशंसालाई पनि संशयका साथ लिन्छन् र उपन्यासमा उठाइएका विषयबारे कुरा गर्नेहरूप्रति बढी चासो राख्छन्।
साहित्य यात्राको सुरुवात
कक्षा ४ मा पढ्दादेखि नै ज्ञवालीमा कविताप्रति रुचि जागेको थियो। उनका बुबा बनारसमा पढेका कारण घरमा संस्कृत, हिन्दी र नेपालीका पुस्तकहरू थिए। देवकोटा र समका कृतिहरू पढेर आफूलाई अरूभन्दा फरक देखाउने लोभ पनि थियो। बुबाले नै लेख्न प्रेरित गर्थे।
तानसेनको जनता माध्यमिक विद्यालयमा पढ्न थालेपछि किताब र लेखनप्रतिको मोह अझ बढ्यो। पुस्तकालयका पुस्तकहरूले उनको रुचिलाई थप बल दिए। स्कुलमा हप्तैपिच्छे हुने अतिरिक्त क्रियाकलापले उनको परिचयमा ‘कवि’ भन्ने विशेषण थपिदियो। साथीहरू उनलाई ‘कवि’ भनेर बोलाउन थाले।
५० सालमा एसएलसी उत्तीर्ण गरेपछि उनी काठमाडौं आए र त्रिचन्द्र क्याम्पसमा आईएससीमा भर्ना भए। विज्ञान पढ्दा पनि साहित्यप्रतिको उनको लगाव घटेन। काठमाडौंको साहित्यिक माहोलले उनलाई अझ उत्साहित बनायो। त्रिचन्द्रको पुस्तकालयले विश्वसाहित्यसँग परिचय गराइदियो र उनी कलेजस्तरीय कविता प्रतियोगितामा सहभागी हुन थाले।
एक कविता प्रतियोगितामा निर्णायक मण्डलमा कवि तुलसी दिवस थिए। आफ्नो कविता सुनाएर उनी फर्किए, तर नतिजा आउँदा उनी प्रथम भए। तुलसी दिवसको नजरमा पहिलो हुनुले उनमा थप ऊर्जा मिल्यो। यज्ञनिधि दाहालले सञ्चालन गर्ने ‘साहित्य–संसार’ कार्यक्रममा पनि उनी कविता सुनाउन पुग्थे।
स्नातकमा के पढ्ने भन्ने प्रश्नले उनलाई सताएको थियो। एकातिर लेख्ने रहर थियो, अर्कोतिर राम्रो विद्यार्थी भएकाले ‘साइन्स’ नै पढ्नुपर्ने दबाब। तर, उनले बी.ए. नेपालीमा भर्ना भए। बुबाले इन्जिनियरिङ पढ्न प्रस्ताव गरे पनि साहित्य नछाड्नू भन्ने सुझाव दिए।
इतिहास र उपन्यासको अवधारणा
ज्ञवालीले विशुद्ध आफ्नै सन्तुष्टिका लागि लेख्न थाले। इन्जिनियरिङको पढाइ पनि अघि बढिरहेको थियो। बीचमा उनका फुटकर रचनाहरू प्रकाशित भए र उनी कविताबाट कथातर्फ लागे। कवितालाई उनी असाध्यै कठिन विधा मान्छन्। उनले अमूर्त शैलीका कविता लेखेनन्, बरु कवितामा पनि कथा नै भन्थे। त्यसैले सिद्ध कविहरूप्रति उनको गहिरो श्रद्धा छ।
स्नातकपछि स्नातकोत्तर गर्न उनी अमेरिका पुगे र हाइड्रो–इन्जिनियरिङमा अध्ययन पूरा गरे। अहिले उनी अमेरिकामै कार्यरत छन्। यसअघि २०७८ सालमा प्रकाशित उनको कथासङ्ग्रह ‘अर्को भोर’ ले पद्मश्री पुरस्कार पाएको थियो।
त्यसपछि उनले यस्तो उपन्यास लेख्ने तयारी गरे जसले इतिहासलाई पक्षपातरहित दृष्टिले हेरोस् र दुई किनारका चरमपन्थबाट मुक्त भएर सन्तुलित बाटो पक्रियोस्। तरुण उमेरमा पढेको आचार्य चतुरसेनको ‘वैशाली की नगरबधू’ ले उनमा ऐतिहासिक उपन्यास लेख्ने चाहना जगाएको थियो। त्यही चाहनाको परिणाम हो ‘अज्ञात’।
ज्ञवालीको बुझाइमा इतिहासलाई हेर्ने क्रममा दुई खालका अतिवादी दृष्टिकोण हाबी भएका छन्। एउटा पक्षले पृथ्वीनारायण शाहलाई महिमामण्डन गरेर देशको एकमात्र नायक बनाउन खोज्छ भने अर्को पक्षले उनलाई खलपात्रको रूपमा चित्रण गर्छ। तर, २० वर्षको उमेरमा गद्दीमा बसेका र ३५ वर्षको उमेरमा चन्द्रागिरि टेकेका पृथ्वीनारायण शाह राजनीतिक प्राणी भएको उनको तर्क छ। मुगल साम्राज्यको पतनलगायत भूराजनीतिक परिस्थितिलाई पनि हेर्नुपर्ने उनी बताउँछन्।
शाहवंशले राज्य विस्तारका क्रममा गरेको हिंसा सत्य हो, तर शासकहरू पनि भूराजनीतिक परिस्थितिबाट प्रभावित भएको र मानवीय पक्ष रहेको कुरा उत्तिकै सत्य रहेको उनको भनाइ छ। युद्ध नेतृत्व र सहयोगी शक्तिको संयुक्त परिणति भएकाले एउटा पक्षतिर मात्र ढल्कनु अपूरो बोध भएको उनले बताए। ‘अज्ञात’ यही द्वन्द्वलाई सन्तुलित रूपमा हेर्ने प्रयासको फल हो। एउटा साधारण पात्रको यात्रामार्फत नेपाल विस्तारको कालखण्डमा देखिएका यी विपरीत तर सहवर्ती सत्यलाई उनले प्रस्तुत गरेका छन्। यो उपन्यास मदन पुरस्कारको सूचीमा पनि सूचीकृत भएको छ।
प्रभाव र आमाको योगदान
ज्ञवाली नेपाली साहित्यका कैयौँ लेखकबाट प्रभावित छन्। बीपी कोइरालाको ‘मोदीआइन’ ले इतिहासको स्थापित भाष्यलाई आम मानिसको तहबाट हेर्न सिकाएको उनी बताउँछन्। मदनमणि दिक्षितको ‘माधवी’ ले प्राचीन कथालाई आधुनिक दृष्टिले हेर्न प्रेरित गर्यो। पारिजात, शारदा शर्मा, ध्रुवचन्द्र गौतम, नारायण वाग्ले र कृष्ण धराबासीका रचनाले पनि उनलाई प्रभावित गरेका छन्। नयाँ पुस्तामा बुद्धिसागर र नयनराज पाण्डेका कृतिहरूले उनलाई छोएका छन्।
हिन्दी साहित्यमा अज्ञेय, उदय प्रकाश, विनोदकुमार शुक्ल, आचार्य चतुरसेन र शिवाजी सावंतका लेखनीबाट उनी प्रभावित छन्। अंग्रेजीमा खालिद हुसेनी, एलिस मुन्रो र झुम्पा लाहिरी उनलाई मनपर्ने लेखक हुन्।
आफ्नो लेखन यात्रामा आमाको योगदानलाई ज्ञवाली बिर्सन सक्दैनन्। गुल्मीको ग्रामीण भेगमा जन्मिएका उनलाई आमाले काठको पाटीमा लेख्न सिकाउनुभयो र माधव घिमिरेका कविता सुनाउनुहुन्थ्यो। यी स्मृतिहरूले नै उनको जग तयार पारेको उनी बताउँछन्।
उपन्यास ‘अज्ञात’ को अन्त्यतिर ज्ञवाली महाकवि देवकोटाकै शब्द सापटी लिँदै भन्छन्, ‘यो एउटा भागीरथी गङ्गा हो, थाप्लामा बोक्न मुस्किल छ। एकबार यस्तै भयो। पछि अझ राम्रो गरौँला।’
