प्रधानमन्त्री बलेन्ड्र शाह बिहीबार बिहान बाढी प्रभावित नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। पछिल्लो बाढीले पुर्याएको क्षतिको स्थलगत मूल्यांकन गर्न उनी करिब साढे ९ बजे सडक मार्ग हुँदै विदुर गएका हुन्। उनको साथमा पूर्वाधार विकासमन्त्री सुनिल लाम्साल छन्। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान सल्लाहकार दीपा दाहालले यो जानकारी दिएकी छन्।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी किनारका बस्तीमा क्षति पुर्याएपछि प्रधानमन्त्री शाह विपद् व्यवस्थापनमा जुटेका छन्। बाढीपछि उनले उच्चस्तरीय बैठक बोलाएर उद्धार तथा राहतका कार्यलाई तीव्रता दिन निर्देशन दिइसकेका छन्।
बिहीबारको भ्रमणका क्रममा प्रधानमन्त्री र मन्त्री लाम्सालले विदुर र वरपरका प्रभावित बस्तीको निरीक्षण गर्ने कार्यक्रम छ। शाहले भौतिक क्षतिको मूल्यांकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षाकर्मी र जनप्रतिनिधिहरूसँग राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्नेछन्। छलफलमा अवरुद्ध पूर्वाधार पुनर्स्थापना र प्रभावित क्षेत्रमा पुनर्निर्माणलाई तीव्रता दिने विषयमा केन्द्रित हुनेछ।
राहत सबै प्रभावित समुदायसम्म छिटो पुर्याउन र पूर्वाधार पुनर्स्थापना तथा पुनर्निर्माणमा गति दिन प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने अपेक्षा गरिएको छ। बाढीले विभिन्न स्थानमा क्षति पुर्याए पनि समयको सीमितताका कारण बिहीबारको स्थलगत भ्रमण मुख्यतः विदुर र आसपासका क्षेत्रमा केन्द्रित रहेको छ।







