इरानको आणविक प्रविधि बाह्य अवरोधबाट सुरक्षित रहेको र धम्की, दबाब अथवा आक्रमणले त्यसलाई रोक्न नसकिने इरानको परमाणु ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले बताएका छन् ।
आणविक क्षेत्रमा हासिल भएको प्रगतिलाई इस्लामीले देशको राष्ट्रिय उपलब्धिका रूपमा व्याख्या गरेका छन् । यो उपलब्धि इरानी वैज्ञानिकहरूले चौबीसै घण्टा गरेको मेहनतबाट सम्भव भएको उनको भनाइ छ । संयुक्त राष्ट्रसंघमा अमेरिकाले दिएको अभिव्यक्तिलाई उनले अमेरिकी पक्षको लाचारीको प्रमाण भनेका छन् ।
इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार संगठनका प्रमुख इस्लामीले संयुक्त राष्ट्रसंघको मञ्चबाटै अमेरिकी अधिकारीहरूले इरानका आणविक केन्द्रमा रणनीतिक हतियार प्रयोग गर्ने खुला धम्की दिएको र इरानको प्राचीन सभ्यता नष्ट गर्ने कुरा उठाएको औँल्याएका छन् ।
‘संयुक्त राष्ट्रसंघको मञ्चबाटै अमेरिकी अधिकारीहरूले इरानका आणविक केन्द्रमा रणनीतिक हतियार प्रयोग गर्ने खुला धम्की दिनु र इरानको प्राचीन सभ्यता नष्ट गर्ने कुरा गर्नु विज्ञान, ज्ञान र प्रविधिको ऐतिहासिक केन्द्र रहँदै आएको अग्रणी राष्ट्रसामु उनीहरूको लाचारी प्रकट हुनु हो ।’
यसैबीच, इरानका आणविक गतिविधि सीमित गर्ने कूटनीतिक प्रयास असफल भएमा इरानका आणविक केन्द्रमा आक्रमण गर्न सक्ने चेतावनी अमेरिकी अधिकारीहरूले पटक–पटक दिँदै आएका छन् ।







