मुख्य सामग्रीमा जानुहोस्

जिबुटी नजिकै डुङ्गा दुर्घटना : १५ बालबालिकासहित १०९ आप्रवासीको ज्यान गयो, ११६ बेपत्ता

जिबुटी तटमा यमनतर्फ लागेको डुङ्गा पल्टिँदा कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ जना बेपत्ता छन्। मृतकमा १५ बालबालिका छन्। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार यो तथ्याङ्क सार्वजनिक गरेको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
जिबुटी नजिकै डुङ्गा दुर्घटना : १५ बालबालिकासहित १०९ आप्रवासीको ज्यान गयो, ११६ बेपत्ता
Online Khabar

जिबुटीको समुद्री तटमा यमनतर्फ लागेको डुङ्गा पल्टिँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको ज्यान गएको छ। सोही घटनामा ११६ जना बेपत्ता भएका छन्। संयुक्त राष्ट्रसङ्घीय निकाय अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार यो विवरण सार्वजनिक गरेको हो।

आईओएमका अनुसार गत अक्टोबर ८ र ९ का बीचको मध्यरातमा ओबोक सहरको उत्तरतर्फ उक्त डुङ्गा दुर्घटनाग्रस्त भई पल्टिएको थियो। डुङ्गामा ३५० जना सवार थिए र त्यो जिबुटीबाट यमनतर्फ गइरहेको थियो।

जिबुटीस्थित आईओएम मिसनका प्रमुख अलेक्जेन्डर कोइसेकले घटनालाई ठूलो मानवीय क्षति भनेका छन्। मृत्यु भएकाका परिवार तथा आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति उनले समवेदना प्रकट गरेका छन्। उद्धार र आपत्कालीन सहायताका लागि आईओएमको टोली जिबुटीका अधिकारीसँग मिलेर घटनास्थलमा खटिएको उनले बताएका छन्।

आईओएमका अनुसार ज्यान गुमाउनेमा ५२ पुरुष, ४२ महिला र १५ बालबालिका छन्। मृत बालबालिकामध्ये नौ बालिका र छ बालक छन्।

८० भन्दा बढी बाँच्न सफल

दुर्घटनाबाट ८० भन्दा बढी व्यक्ति बाँच्न सफल भएका छन्। आईओएमका अनुसार उनीहरू सबै इथियोपियाली नागरिक हुन्।

आईओएमले यो घटनाले आर्थिक अवसरको खोजीमा बाब–अल–मन्देब जलमार्ग पार गर्दै यमन हुँदै खाडी मुलुक पुग्ने प्रयासमा आप्रवासीले सामना गर्नुपर्ने जोखिमलाई फेरि उजागर गरेको जनाएको छ।

आईओएमले जारी गरेको विज्ञप्तिमा मध्यपूर्वमा अस्थिरता बढ्दै गए पनि गरिबी, असुरक्षा र जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण धेरै मानिस यस्तो जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गरिएको छ।