काठमाडौं, अगस्ट २७। अमेरिकी सरकारले रासुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि पाँच लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश विभागका अनुसार यो सहयोग क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहयोग व्यवस्थाअन्तर्गत प्रदान गरिनेछ। उक्त रकम आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छता सेवामा खर्च गरिनेछ।
विदेश विभागले स्थितिमाथि नजिकबाट निगरानी गरिरहेको र जारी राहत प्रयासलाई सहयोग पुर्याउन विपद् प्रतिक्रिया सल्लाहकार परिचालन गर्ने पनि बताएको छ। बाढीमा परी ज्यान गुमाउनेहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै अमेरिकी सरकारले यस विपद्बाट प्रभावित सबैप्रति आफ्नो संवेदना रहेको जनाएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी गर्न र उनीहरूलाई सहयोग पुर्याउन स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको छ। दूतावासले प्रभावित अमेरिकी नागरिकलाई स्थानीय अधिकारीका निर्देशन पालना गर्न र सुरक्षासम्बन्धी जानकारीका लागि स्थानीय समाचार अनुगमन गर्न आग्रह गरेको छ।
त्यस्तै, आपत्कालीन तथा सुरक्षा सूचना प्राप्त गर्न अमेरिकी नागरिकलाई स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम (STEP) मा दर्ता हुन पनि दूतावासले सल्लाह दिएको छ। नेपालमा रहेका आफन्तको अवस्थाबारे जानकारी लिन चाहने अमेरिकी नागरिकले विदेश विभागको आपत्कालीन सहायता नम्बरहरूमा सम्पर्क गर्न सक्ने बताइएको छ।







