यस वर्षको ‘मीना दिदी पुरस्कार–२०८३’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिने भएको छ। भोटेकोशी बाढीको आपत्कालीन अवस्थामा विद्यार्थीहरूको जीवनरक्षा गर्न सफल भएको योगदानको कदर गर्दै उनलाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको हो।
पुरस्कार समितिका सदस्यसचिव उमानाथ पोखरेलका अनुसार पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ। शिक्षा क्षेत्रमा पुर्याएको योगदानका आधारमा हरेक वर्ष एक जना महिला शिक्षकलाई यो पुरस्कार प्रदान गर्ने व्यवस्था छ।
पुरस्कारको स्थापना
समाजसेवी तथा प्राध्यापक आरती कार्की र मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिकाले आफ्नी आमा स्वर्गीय मीनाकुमारी कार्कीको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन्।
महिलाहरूलाई औपचारिक शिक्षा प्राप्त गर्ने अवसर निकै सीमित रहेको समयमा मीनाकुमारी कार्कीले ग्रामीण क्षेत्रमा शिक्षाको विकास तथा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएकी थिइन्। विसं २०२३ सालदेखि शिक्षण पेसा सुरु गरेकी उनले अर्घाखाँची र पाल्पाको झडेवास्थित किसान माध्यमिक विद्यालयमा गरी निरन्तर २७ वर्ष अध्यापन गरेकी थिइन्।
उनको योगदान कक्षाकोठामा मात्र सीमित थिएन। छोरीहरूलाई विद्यालय पठाउन हिचकिचाउने तत्कालीन समाजमा उनी घरघर पुगेर अभिभावकहरूलाई छोरीहरू पनि पढ्नुपर्छ भनी सम्झाउने र उत्प्रेरित गर्ने काम गर्थिन्। ग्रामीण क्षेत्रमा महिला शिक्षाप्रति चेतना जगाउने तथा बालिकाहरूलाई विद्यालयसम्म पुर्याउने उनको संघर्षको सम्मान गर्दै उनकै नाममा यो पुरस्कार स्थापना गरिएको हो।
गत वर्षको पुरस्कार
गत वर्ष पहिलोपटक प्रदान गरिएको ‘मीना दिदी पुरस्कार–२०८२’ बैतडीकी पहिलो महिला शिक्षिका कृष्णा विष्टलाई प्रदान गरिएको थियो।







