लाङटाङ हिमालको उत्तरी भेगमा गएको विशाल हिमस्खलनपछि ल्हेन्दे खोलाको किनारमा प्राकृतिक ताल बनेको छ। पछिल्लो समय त्यसको आकार बढ्दै गएपछि भोटेकोशी तटीय क्षेत्रमा फेरि बाढीको जोखिम बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। तर भूगर्भविद् र जलस्रोत विशेषज्ञहरूले भने यो तालबाट बुधबार आएजस्तो ठूलो बाढी आउने सम्भावना न्यून रहेको बताएका छन्।
चिनियाँ सञ्चारमाध्यम र भू–उपग्रह तस्बिरहरूको विश्लेषणले दुई साना हिमाली खोल्साको दोभानमा ताल बनेको देखाएको छ। चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले छोचेन खोला र पुरेपु हिमनदीको फेदमा पानी जम्मा भएर ताल बनिरहेको जनाएको छ। यी दुवै पानीका स्रोत ल्हेन्दे खोलामा मिसिन्छन्, जुन खोला रसुवागढीमा आएर केरुङ खोलासँग मिल्छ।
रसुवागढी नाकाबाट करिब १८ किलोमिटर उत्तरमा रहेको सो तालको क्षेत्रफल ०.११ वर्ग किलोमिटर पुगेको छ। बिहीबारसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको बताइएको छ। चिनियाँ केन्द्रीय टेलिभिजनहरूले आगामी दुई÷तीन दिनमा थप १० लाख घनमिटर पानी थपिएर कुल ३० लाख घनमिटर पुग्न सक्ने र त्यसपछि प्राकृतिक बाँध फुट्न सक्ने चेतावनी दिएका छन्।
प्राधिकरणले बिहीबार सूचना जारी गर्दै ल्हेन्दे खोलाको बहाव अवरुद्ध भएर ताल बनेको उल्लेख गरेको छ। प्लानेट ल्याब र ल्यान्डस्याट स्याटेलाइट तस्बिरहरूमा नयाँ ताल विस्तार भएको देखिएको प्राधिकरणले जनाएको छ। प्राकृतिक बाँध फुटेर फेरि ठूलो बाढी आउन सक्ने जोखिम कायम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा र सम्बन्धित सबैलाई उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ।
विज्ञहरू के भन्छन् ?
त्रिभुवन विश्वविद्यालयको भूगर्भ केन्द्रीय विभागका प्राध्यापक रञ्जनकुमार दाहाल बुधबारदेखि फैलिएको तालले बाढीको त्रास बढाए पनि ठूलो जोखिम भने नरहेको बताउँछन्। ताल सानो रहेकाले बुधबार बिहान जस्तो ठूलो बाढी आउने सम्भावना नरहेको उनको भनाइ छ। उनका अनुसार ताल विस्फोट भए पनि त्यसबाट बुधबारकै जस्तो बाढी आउने छैन।
ऊर्जा मन्त्रालय अन्तर्गतको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले चिनियाँ पक्षले ल्हेन्दे खोलाको माथिल्लो भागमा पानी जम्मा भई ताल बनेको र यसको आकार बढिरहेको जानकारी गराएको बताए। चिनियाँ पक्षले नजिकबाट अनुगमन गरिरहेको र केही आँकलनका आधारमा बाँध फुट्न सक्ने चेतावनी दिएको हुनसक्ने उनले उल्लेख गरे।
पराजुलीका अनुसार तालमा जम्मा भएको पानी बुधबारको बाढीको तुलनामा निकै कम मात्र हो। त्यति पानी बगे पनि हिजोभन्दा बढी क्षति हुने अवस्था नरहेको उनले बताए। तथापि, उद्धारकर्मीहरू निश्चिन्त भएर तटीय क्षेत्रमा जान नहुने उनको भनाइ छ। भोटेकोशी तथा त्रिशुलीका बाढी प्रभावित क्षेत्रमा रहनेहरू सतर्क रहनुपर्ने तर भयभीत हुनुपर्ने अवस्था नरहेको उनले जोड दिए।
जलस्रोत विशेषज्ञ सन्तोष नेपालका अनुसार बुधबार बिहान लाङटाङ हिमालको उत्तरी भागबाट बरफ, हिउँ र चट्टानसहितको मिश्रण करिब ५५ सय मिटर उचाइबाट तल खसेको थियो। तीन हजार मिटरको उचाइमा झर्दा त्यसले ठूलो खाडल बनाएको र त्यसबाट ठूलो ऊर्जा उत्पन्न भएको उनले बताए।
जलवायु विशेषज्ञ उज्वल उपाध्यायले हिउँ र माटोको लेदोसहितको बाढी झरिरहेकाले जोखिम बढेको बताएका छन्। प्राकृतिक जलाशयमा पानी जम्मा भइसकेको र थप पानी भरिँदै गएकाले अचानक पानीको बहाव तथा थप शृंखलाबद्ध विपद्को जोखिम रहेको उनको भनाइ छ।
दाहालका अनुसार ल्हेन्दे खोला नै नेपाल–चीनको सीमा हो र ताल सीमानजिकै बनिरहेको छ। नेपाल सरकारले हेलिकप्टरमार्फत त्यहाँ अध्ययन गर्ने सम्भावना निकै कम रहे पनि चिनियाँ टोलीले ड्रोन उडाएर तालको अनुगमन गरिरहेको छ। चिनियाँ पक्षको सूचनाकै आधारमा ताल बढिरहेको र फेरि जोखिम हुन सक्ने जानकारी प्राप्त भएको उनले बताए।







